
काठमाडौं । भारतीय निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित चलचित्र ‘रामायण : राइज अफ अ लेजेन्ड’ले बक्सअफिसमा बलियो सुरुवात गरेको छ। बिहीबार रिलिज भएको यो चलचित्रले दुई दिनमै विश्वभर भारु २ अर्ब (२ सय करोड) को सीमा पार गरेको छ। बक्सअफिसको हिसाब राख्ने पोर्टल स्याक्निल्कका अनुसार चलचित्रको दुई दिनको विश्वव्यापी कुल कमाइ भारु २ अर्ब २१ करोड ५ लाख पुगेको छ।
भारतमा पनि चलचित्रले दुई दिनमै १ अर्ब (सय करोड) को खुद कमाइ पार गरेको छ। पाँच भाषामा रिलिज भएको यसले पहिलो दिन बिहीबार भारु ६४ करोड ८५ लाख खुद कमाएको थियो। दोस्रो दिन शुक्रबार कमाइ करिब २५.९ प्रतिशतले घटेर ४८ करोड ५ लाखमा झरेको बताइएको छ। दुवै दिन जोड्दा भारतको खुद कमाइ १ अर्ब १२ करोड ९० लाख पुगेको छ।
भारतभित्रको कमाइमा सबैभन्दा ठूलो हिस्सा हिन्दी संस्करणको छ। हिन्दी संस्करणले बिहीबार ४७ करोड ५० लाख र शुक्रबार ३५ करोड ५० लाख गरी दुई दिनमा ८३ करोड कमाएको छ। यो रकम कुल खुद कमाइको करिब ७३.५ प्रतिशत हो। हिन्दीपछि कन्नड संस्करणले धेरै कमाएको बताइएको छ।
चलचित्रमा रणवीर कपूर रामको भूमिकामा छन् भने साई पल्लवी सीता र दक्षिण भारतीय स्टार यश रावण बनेका छन्। रवि दुबेले लक्ष्मण, अरुण गोविलले राजा दशरथ, लारा दत्ताले कैकेयी, रकुलप्रीत सिंहले शूर्पणखा, काजल अग्रवालले मन्दोदरी र आदित्य कोठारेले भरतको भूमिका निभाएका छन्। चलचित्रका निर्माता नमित मल्होत्रा हुन्।
रिलिजपछि चलचित्रले दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सप्ताहान्त सुरु भएसँगै आगामी दिनमा यसको कमाइ अझ बढ्ने अनुमान गरिएको छ। यता नेपालमा भने २के प्रविधि नभएका धेरै हलमा यो चलचित्र प्रदर्शन हुन सकेको छैन।




