ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक एवं सञ्चारकर्मी श्याम अर्याल अब निर्माता बन्ने भएका छन् । चलचित्र ‘प्रोड्यूसर’बाट नायक बनेका श्यामले ‘द यूगदेखि यूगसम्म’, आइ एम सरी’मा पनि अभिनय गरेका छन् । श्यामको प्रोडक्सन कम्पनी मिजल पिक्चर प्रोडक्सनबाट अब दुई चलचित्र निर्माण गरिने भएको छ ।
श्यामले निर्माण गर्ने पहिलो सोसल ड्रामा चलचित्रलाई अनुप गिरीले निर्देशन गर्दैछन् । यो फिल्ममा रतन थापा प्रस्तुतकर्ताको रुपमा रहनेछन् तर फिल्ममा श्यामको अभिनय रहने छैन । फिल्मको चैतबाट छायाँकन सुरु हुनेछ । मिजल पिक्चर प्रोडक्सनबाट निर्माण हुने अर्को फिल्मको हाल गृहकार्य भइरहेको र चाँडै नै औपचारिक कार्यक्रम गरेर जानकारी दिइने श्यामले बताए ।
श्यामको मिजल पिक्चर्सले गल्फ मुलुकमा फिल्म पनि बितरण गर्ने योजना सार्वजनिक गरिएको छ । गल्फ मुलुकमा उनको कम्पीले ‘कोहिनुर’, ‘नोभेम्बर रेन’ र ‘स्टुपिड मन’ बितरण गर्नेछ । जापान, अष्ट्रेलिया, कतार, हङकङ लगायतका देशमा चलचित्र प्रदर्शन गर्ने तयारी गरेको मिजल पिक्चर्सले यी देशमा कन्सर्ट पनि गर्ने तयारी गरेको छ । कलाकार श्याम अर्यालले थुप्रै म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन् ।