ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘छायाँको अनुहार हुँदैन’ भन्ने नाराका साथ निर्माण भएको नेपाली चलचित्र ‘छायाँ’को फस्टलुक पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीसामु पोस्टर र ट्रेलर देखाईएको हो ।
मनोज पण्डित निर्देशित यो चलचित्र किशोर अवस्थाका बालबालिकाको भावना, यौन तथा शारीरिक सम्बन्ध, नयाँ मानिससँगको सहज आकर्षण, अभिभावकसँगको दूरी, त्यसबाट उत्पन्न द्वन्द्वमा आधारित कथामा निर्माण भएको बताईएको छ । एउटा परिवारको पिडादायक संघर्षलाई प्रस्तुत गरिएको यस चलचित्रले ठुलो सन्देश नदिएपनि मानविय संवेदनामो प्रश्न सबैमा उठोस भन्ने चाहना रहेको निर्देशक पण्डितले बताए ।
‘यस चलचित्रले हरेक दर्शकलाई त्यहि स्थानमा आँफैसँग प्रश्न गरिरहेको अवस्थामा पुर्याउन खोजेको छ । विशेषत: हरेक अभिभावकलाई आफ्ना छोरा-छोरीसँग यो चलचित्र हलमा हेर्न आउनुहुन्छ भन्ने अपेक्षा राखिएको छ’ कार्यक्रममा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘समाजमा विद्यमान नकारात्मक पक्षका बिषयमा सबैले आ-आफ्नो तहबाट छलफल गरी समाजमा अनुहार लुकाएर छायाँ बनेर बसेकाहरुलाई सामाजिक बहिस्कारको अवस्थामा पुर्याउन मद्दत मिलोस भन्ने चलचित्र निर्माणको मुख्य उद्देश्य हो’ ।
चलचित्रलाई लेखन समेत निर्देशक पण्डितले नै गरेका हुन् । अनुप बराल, प्रकाश घिमिरे, अरुणा कार्की, साईब्रत आचार्य, प्रविना खड्का लगाएतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई दिपक बज्राचार्यले छायांकन गरेका हुन् साथै निमेश श्रेष्ठले सम्पादन गरेका छन् । ‘छायाँ’ ECPAT Luxembourg को सहयोगमा Voice Of Children को निर्माण तथा Intact Media को प्रस्तुतीमा बनेको हो ।