ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाल प्रदर्शनदेखि ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’सम्मको यात्रामा सहयोग पुर्याउने सञ्चारकर्मी, चलचित्र यूनिट तथा शुभचिन्तकलाई चलचित्र ‘लभ यू बाबा’का निर्देशक सौगात बिष्टले ‘आभार पत्र’ प्रदान गरेका छन् । यसै चलचित्र निर्देशन गरेर विश्वकै कान्छो निर्देशक बनेका बिष्टले बुधबार बिहान राजधानीको कुमारी हलमा औपचारिक कार्यक्रमको आयोजना गरी सहयोगी सबैलाई आभार पत्र हस्तान्तरण गरेका हुन् ।
७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर सौगातले ‘गिनिज बुक अफ वर्ल्ड’मा विश्वकै कान्छा निर्देशकको नाम लेखाएका हुन् । सम्मान कार्यक्रममा निर्देशक विष्टले फिल्म निर्देशन गर्न सघाउने सबैलाई धन्यवाद दिए । उनले भने, ‘मैले गर्छु भन्दा हुन्न नभन्ने मेरो बुबा र आमाप्रति विशेष आभारी छु ।’ सम्मान कार्यक्रमपछि चलचित्र प्रदर्शन पनि गरिएको थियो ।
बुवा र छोरीबिचको भावनात्मक सम्बन्धलाई देखाइएको फिल्म ‘लभ यू बाबा’ मा अभिनेता गजित विष्ट र छोरी संगमको शिर्ष भूमिका रहेको छ । उनिहरुसँगै निश्मा घिमिरे, निर्मल शर्मा, अशिस्मा नकर्मी लगायतको पनि अभिनय रहेको छ । दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा गम्भिर विष्टको नृत्य निर्देशन र चन्द्र पन्तको द्वन्द्व निर्देशन छ । कोरियोग्राफर गम्भिर बिष्टले चलचित्र लेखेका हुन् ।