८ बर्षपछि ‘कन्दरा’ समुहको सांगीतिक क्षेत्रमा पुनरागमन



kandara-new

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पोखराको लोकप्रिय सांगीतिक समुह ‘कन्दरा’ करिव ८ वर्षपछि लोक–पप शैलीका गीतमार्फत सांगीतिक क्षेत्रमा पुनरागमन गर्न भएको छ । यसपटक कन्दरालाई श्रोतामाझ प्रस्तुत गर्ने जिम्मा स्टेरियो रेकर्ड्सले लिएको छ । स्टेरियो रेकर्ड्सका प्रवन्ध निर्देशक आशिष पराजुलीका अनुसार ‘कन्दरा’ को पाँचौं एल्बम आगामी जेठको अन्तिम साता काठमाडौंमा सार्वजनिक गरिने तयारी भइरहेको छ ।

विगतमा पाँच जना संगीतकर्मीहरु आवद्द यो ब्याण्ड यतिबेला तीन जना संगीतकर्मीहरु सहित श्रोतामाझ आउन लागेको हो । ब्याण्डमा गायक विवेक श्रेष्ठ तथा दुई जना संगीतकर्मीहरु सुनिल थापा तथा बोधराज बज्राचार्य आवद्द छन् । २१ वर्षअघि पोखरामा स्थापना भएको यो ब्याण्डले विगतमा थुप्रै लोकप्रिय गीत दिइसकेको छ । ‘कन्दरा’ ब्याण्ड ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘डाँडा पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छी’ जस्ता लोकप्रिय गीतका कारण चर्चामा आइसकेको छ । कन्दराले आफ्नो नयाँ एल्बममा वरिष्ठ साहित्यकार, गीतकार तथा नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तसंग लोकप्रिय गीत ‘हङकङ पोखरा…’ पछि पुनः एकपटक सहकार्य गरेको छ । नयाँ एल्बममा ब्याण्डले आफ्नो पुरानो लोकप्रिय गीत ‘तिमी पारी…’ लाई रिमेक गर्दैछ ।

‘कन्दरा’ ले आफ्नो पहिलो एल्बम ‘चञ्चले कान्छी’ सन् १९९४ मै सार्वजनिक गरेको थियो भने दोस्रो एल्बम ‘डाँडा पारी’ सन् १९९६ मा स्रोतामाझ ल्याएको थियो । त्यसपछि सन् १९९८ मा तेस्रो एल्बम ‘हङकङ पोखरा’ सार्वजनिक गरेको कन्दराले चौथो एल्बम ‘वर्षौं पछि’ सन् २००६ मा बजारमा ल्याएर चर्चा पाएको थियो । आफूलाई मेलोडियर लोक–पप ब्याण्ड भन्न रुचाउने कन्दराले विगतमा सरुभक्त, विनोद गौचन, रमेश श्रेष्ठ जस्ता श्रष्टासंग सहकार्य गरिसकेको छ । हाल लन्डनमा रहेका ब्याण्डका गायक विवेक श्रेष्ठका अनुसार नयाँ एल्बममा अघिल्लो वर्ष दिवंगत भएका गीतकार विनोद गौचनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको एउटा गीत ‘चन्द्रकोटकी नानी…’ समावेश गरिंदैछ । यसैबीच कन्दराले आफ्नो नयाँ एल्बमको नयाँ गीत ‘भेडी गोठैमा’ को ज्याम अप भर्सन यूट्युबमार्फत सार्वजनिक गरेको छ ।

यूट्युबमा भिडियो हेरेर दर्शकहरुबाट प्राप्त हुने प्रतिक्रिया अनुसार गीतको एरेञ्जमेन्ट तथा रेकर्डिङ गर्ने तयारी भैरहेको स्टेरियो रेकर्ड्सका पराजुलीले स्पष्ट पारेका छन् । नयाँ एल्बममा ८ गीत समावेश गरिनेछ । ‘एल्बम सार्वजनिक भए लगत्तै कन्दराले देशका प्रमुख शहरमा लाइभ कन्सर्ट गर्दैछ, पराजुली भन्छन्—‘कन्दराले दसैंअघि काठमाडौंमा अर्केष्ट्रासहितको एउटा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्नेछ ।

भेडीगोठैमा गीतको ज्यामअप भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu