ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते आएको महाभूकम्पले नेपाली चलचित्र क्षेत्रमा पनि ठुलो असर पारेको छ । यसैबीच भूकम्पबाट पिडित चलचित्रकर्मी र चलचित्रघरहरुको विवरण निकाली राहतका लागी पहल गरिने भएको छ ।
बिहिवार चलचित्र विकास बोर्डमा बसेको बैठकले भूकम्पबाट पिडित चलचित्रकर्मी तथा चलचित्रघरहरुको विवरण निकाली तत्काल राहतको लागी पहल अघि बढाईने निर्णय गरेको छ । पन्ध्र दिनसम्म छायांकन स्थगन तथा क्षतिग्रस्त चलचित्रघरहरु बन्द गर्ने निर्णय गर्दै बैठकले प्राकृतिक विपत्तीको बेला सबै चलचित्रकर्मीलाई एकबद्द रहेर अघि बढ्न आग्रह गरेको छ ।
साथै, चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोखरेलको संयोजकत्वमा ‘चलचित्रकर्मी मानव तथा भौतिक क्षति विवरण संकलन एवं सहयोग वितरण समन्वय समिति’ गठन गरिएको छ । बिहिवारको बैठकले देशमा गएको शक्तिशाली भुकम्पले पुर्याएको प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउन पुगेकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ भने घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
गत शनिवार आएको ७.६ रेक्टर स्केलको भूकम्पले बिशेष गरी मल्टिप्लेक्स हललाई बढि प्रभावित बनाएको छ । उक्त भूकम्पबाट देशका अन्य क्षेत्रमा परेको असर जस्तै चलचित्र क्षेत्रलाई पनि तहसनहस बनाएको छ ।