बलिउडमा आफुलाई सफल अभिनेत्रीको रुपमा स्थान बनाउन सफल कंगना रनोटको नयाँ चलचित्र ‘तनु वीड्स मनु रिटन्स’ले बलिउड बक्सअफिसमा राम्रो व्यापार गर्न सफल भएको छ । ‘क्विन’ चलचित्र पश्चात अत्याधिक सफलता हात पार्दै गएकी कंगनाको ‘तनु वीड्स मनु रिटन्स’ले प्रदर्शनमा आएको पहिलो दिन ९ करोड,दोस्रो दिन १३ करोड कमाउन सफल भएको छ ।
चलचित्रले हालसम्ममा भारतभरबाट ३५ करोड भारु कमाउन सफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । गएको शुक्रबारबाट प्रदर्शन आरम्भ भएको ‘तनु वीड्स मनु रिटन्स’मा अभिनेत्री कंगनाको अभिनयलाई दर्शकहरुले निकै रुचाएका छन् । यस चलचित्रमा दोहोरो भुमिकामा देखिएकी कंगनासगैं आर माधवन, जिमि शेरगिल, दीपक डोबररियाल, स्वरा भास्कर आदिको पनि अभिनय रहेको छ। चलचित्रलाई आनन्द एल रायले निर्देशन गरेका हुन्। यो चलचित्र सन् २०११ मा रिलिज भएको ‘तनु वीड्स मनु’को दोस्रो श्रृखंला हो।