ठुलोपर्दा डटकम, काठमाण्डौ।
भारतका कमेडी किंग कपिल शर्माले सञ्चालन गर्ने कमेडी नाइट विथ कपिल अहिले भारतको सबैभन्दा लोकप्रिय कमेडी शो मध्यमा पर्छ । उनको शोलाई टक्कर दिन भारतीय टिभी च्यानलमा धेरै कमेडी शो सञ्चालनमा आए तर कुनैले पनि कपिलको शो जसरी चर्चा कमाउन सकेनन् । अब कपिलले सञ्चालन गर्ने जस्तै शो नेपालमा पनि हुने भएको छ ।
नेपालका कमेडियन जितु नेपालले साउनको तेश्रो साताबाट ‘कमेडी क्लब विथ जितु नेपाल’ सञ्चालन गर्ने भएका छन् । टेलिभिजन कार्यक्रममा उदाउँदै गरेको प्रोडक्सन हाउस फर सि नेटवर्कले यो शो सञ्चालनमा ल्याउन खोजेको हो । यो ‘कमेडी क्लब विथ जितु नेपाल’ एकघन्टा लामो मेघा कार्यक्रमको पहिलो सिजन एकसय भागको हुनेछ । यसपछि दर्शकको माया पाएको खण्डमा अरु भाग पनि बढाउन सकिने नेटवर्कका अध्यक्ष एवं निर्माता दिपेन्द्र खनियाँले जानकारी दिए ।
खनियाका अनुसार स्टेज कार्यक्रम र टेलिभिजन कार्यक्रमका विषय सामग्री भने फरक फरक हुनेछन् । साउनको तेस्रो हप्तादेखि प्रशारणको तयारी गरिरहेको कार्यक्रम कमेडी क्लब विथ जितु नेपालको अहिले सेट निर्माण तहमा छ । लेखन तथा कलाकार छनौटको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ ।