ठुलोपर्दा डटकम, काठमाण्डौ।
एक्टिङ स्कुल अफ इन्डिया मुम्बईका संस्थापक निर्देशक विशारद बस्नेतले गुरुकुल र मण्डला थिएटरका कलाकारलाई लिएर नाटकको नयाँ फर्म ‘क्लाउन थिएटर’ गरेका छन् । १५ दिन अगाडी नेपाल आएका बस्नेतले मण्डलाका कलाकारलाई तीन दिनको ‘वर्कसप’ दिएर सुन्धाराको डबलीमा नाटक प्रस्तुत गरेका छन् ।
नाकमा रातो मास्क लगाएर प्रस्तुत भएका कलाकारले ४० मिनेट नाटक प्रदर्शन गरेका हुन् । त्यस्तै, गुरुकुलका विद्यार्थीलाई सातदिन र्वकसप दिएर बनेपाको एस.ओ.एस.स्कुल काठमाडौं युनिभर्सिटी, हाइल्याण्ड स्कुल लगायत पनौतिको मल्पि इन्टरनेसनलमा नाटक प्रस्तुत गरेका थिए ।
तीन हजार बढि दर्शकमाझ नाटक प्रर्दशन गरिसकेका बस्नेतले अब धादिङका केहि स्कुल र हार्वड इन्टरनेसनल स्कुल बाफलमा नाटक प्रस्तुत गर्ने तयारी गरिरहेको बताए । नाटकमा सहभागी दर्शकको ठूलो सहयोग पाइरहेको बताउँदै बस्नेत भन्छन्, ‘बालबालिकाले धेरै नै मनोरञ्जन लिइरहेका छन् ।
स्टेजमै गएर कलाकारसँग रमाइरहेका हुन्छन् । सबैको अनुहारमा हाँसो देख्दा आफूलाई पनि खुसी लाग्छ ।’ केही दिनमै मुम्बई फर्कने तयारीमा रहेका बस्नेत केही महिनापछि स्वदेश फर्केर मण्डला थिएटरसँग सहकार्य गरी दुई महिनाको कार्यशाला सञ्चालन गर्ने सोचमा छन् ।