ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र विकास वोर्डले २०७१ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान साउन १२ गते प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार राष्ट्रपति निवास शीतल निवासमा मंगलबार बेलुकी ३ बजे राष्ट्रपति डा.रामवरण यावदले वितरण गर्नेछन् ।
यो पटकको राष्ट्रिय चलचित्र पुरस्कार ८ वटा विधामा प्रदान गरिँदैछ । सोही दिन नेपाली चलचित्र क्षेत्रको राष्ट्रिय सम्मानका लागि स्वदेशी चलचित्रको विकास, विस्तार एवं प्रवर्द्धनमा निरन्तर रुपमा क्रियाशील एवं समर्पित गरिने वोर्डका अध्यक्ष राजकुमार राईले जानकारी दिए ।
राष्ट्रिय चलचित्र पुरस्कार प्रचार प्रसार उपसमितीकी संयोजक रुपा रानाद्वारा जारी गरिएको विज्ञप्तीमा पुरस्कारको बारेमा जानकारी दिँदै एक चलचित्रकर्मीलाई नगद ३ लाख ५१ हजार १ सय ११ रुपैयाँबाट ‘दीर्घ साधना सम्मान’ प्रदान गर्ने उल्लेख गरिएको छ ।
बोर्डले यसपटक उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, लेखन, छायाङ्कन, सम्पादन र उत्कृष्ट आदिवासी जनजाति चलचित्रलाई पुरस्कृत गर्नेछ । यस पुस्कारमा २०७१ साल वैशाख देखि २०७१ साल चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रहरु मध्ये निर्णायक मण्डलबाट सिफारिशमा परेका उत्कृष्ट चलचित्र तथा चलचित्रकर्मीलाई पुरस्कृत गरिन लागिएको हो ।