
ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि बन्द रहेको मण्डला थिएटरमा आज शुक्रबारबाट ‘वैतरणी क्याफे’ शीर्षकको नाटकमार्फत नियमित मञ्चनमा फर्किने भएको छ । भूकम्पअघि मण्डलाले सरुभक्तद्वारा लिखित सिरुमा रानी नामक नाटक मञ्चनको तयारी गरेको थियो ।
मण्डलाकै प्रशिक्षार्थी विद्यार्थीहरुले तयार गरेको नाटक मञ्चन हुनु अगावै भूकम्प आएपछि कलाकारहरु तितरबितर भए । सो नाटक मञ्चनका लागि तुरुन्तै कलाकार नजुट्ने देखेपछि मण्डलाले दयाहाङ राईकै निर्देशनमा वैतरणी क्याफे मञ्चनको तयारी थालेको हो । नाटकमा मान्छे हुने उद्देश्य बोकेर जुनी फेर्ने यात्रामा निस्किएका जनावरहरूको कथा समेटिएको छ ।
भूकम्पपछि वितरण र पुनःस्थापनाका कामहरूमा लागिपरेको भए तापनि अब सामान्य जीवनमा फर्किन आवश्यक भएकाले नयाँ नाटक मञ्चनको तयारी थालिएको मण्डलाका सञ्चालक तथा वैतरणी क्याफेका निर्देशक दयाहाङ राईले जानकारी दिए ।
थिएटरका पुराना र प्रशिक्षार्थी गरी ३५ जना कलाकारको सहभागिता रहने यो नाटकको लेखन कार्य पनि दयाहाङ स्वयंले गरेका हुन् भने लेखन र निर्देशनमा रंगकर्मी सोमनाथ खनालले सघाएका छन् ।
नाटकमा सिर्जना सुब्बा, वाल्मिकी पोखरेल, विजय बराल, उमेश तामाङ, मोहम्मद नाजिर हुसेन, विकास जोशी, आर्जेश रेग्मी, विजया कार्की, रियर राई, अंकित खड्का, शारदा अधिकारी, सुरज श्रेष्ठ, रोहित पौडेल, अनुप न्यौपाने, मिलन कार्की, दिलजंग गुरुङ, शक्ति राई, बिनिता गुरुङ, कुशल पाण्डे, सन्दिप श्रेष्ठ, सागर खाती, मोहन अधिकारी लगायतले अभिनय गरेका छन् । यो नाटक भदौ ६ गतेसम्म सोमबारबाहेक हरेक साँझ मञ्चन हुनेछ ।