झाडु बोकेर ‘धुर्मुस-सुन्तली’ मन्थली छिर्दा



dhurmus-suntali-manthali
‘धुर्मुस सुन्तली सरसफाइ अभियान’का लागि हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) बुधबार रामेछाप सदरमुकाम मन्थली पुगेका छन् । उनीहरुसँग स्थानीय पनि उल्लाससाथ बजार सरसफाइ अभियानमा साथ दिएका थिए ।

अभियानमा जिल्लाका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल, स्थानीय विकास अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि समेतले साथ दिएका थिए। मन्थलीको मदन भण्डारी सालिक चोकदेखि बसपार्कसम्मको अभियानमा कलाकारको जोडीले बीचबीचमा धुर्मुस र सुन्तलीको शैली झिक्दै सर्वसाधारण जम्मा गर्ने कोसिस गरे ।

उनीहरूको अभियानलाई आवश्यक पर्ने सामग्री खानेपानी तथा स्वच्छता समन्वय समितिले व्यवस्थापन गरिदिएको थियो । सरकारले सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त बनाउने घोषणासहित विभिन्न कार्यक्रमहरू अघि बढाएको छ । धुर्मुसको अभियान पनि सोही कार्यक्रमलाई सहयोग पुर्‍याउनका लागि हो । सरकारले सन् २०१७ सम्मका लागि सरसफाइ राजदूत बनाएको उक्त जोडी नेपालभर सरसफाइको अभियान लैजान रामेछापबाट पसेको हो ।

मंगलबार सरोकारवालासँग अन्तरक्रिया गरेर गाउँ पसेको उक्त जोडीले केही शौचालय सफाइ गरेको, बालबालिकाहरूलाई सफा बस्नका लागि चेतनामूलक सन्देश दिएर फर्केको थियो । देशव्यापी रुपमा सरसफाइ सम्बन्धी चेतना फैलाउने उद्देश्यअनुरुप रामेछापबाट अभियान थालेको कट्टेलले बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu