दिपाश्रीको निर्देशनमा ‘लप्पन छप्पन’ बन्ने, हुने छैनन् ‘धुर्मुस’



deepak-deepa-bfgf

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘६ एकान ६’ र ‘वडा नम्बर ६’ जस्ता सफल चलचित्र दर्शकमाझ दिइसकेको टिम ले पुनः नयाँ चलचित्रको घोषणा गरेको छ । सरस्वती पुजाको विशेष दिनमा चलचित्र निर्माणको घोषणा सँगै चलचित्रको नाम पनि सार्वजनिक गरिएको छ ।

यो टिमले बनाउने नयाँ चलचित्रको नाम ‘लप्पन छप्पन’ हुने बताइएको छ । यो पटक यस चलचित्रको निर्देशन हाँस्यकलाकार तथा निर्मात्री दिपाश्री निरौलाले निर्देशन गर्नेछिन् । चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीका अनुसार लगभग तीन चार महिनाको मन्थनबाट चलचित्रको धेरैवटा नामहरु आएपनि अन्त्यमा टिममा सल्लाह गर्दा ‘लप्पन छप्पन’ नै राख्ने निर्णय गरेको बताए । उनले अगाडी थपे -‘यसपटक चलचित्र निर्देशनको जिम्मा पनि हामीले टिम भित्रैबाट दिपाश्रीलाई दिएका छौं ।’

उनले भने -‘दुई वटा चलचित्रहरुबाट हामीले धेरै कुरा सिक्यौ, अब दिपाजी यो कामको लागि परिपक्क हुनुहुन्छ भन्ने लागेर नै उहाँलाई लप्पन छप्पन निर्देशनको जिम्मा दिएका हौं ।’ दिपकका अनुसार यस पटक चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ हुने छैनन् ।

चलचित्र ‘लप्पन छप्पन’मा दिपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’, शिवहरी पौडेल ‘मुखमा हान्नु जस्तो’, बुद्धि तामाङ्ग ‘हैट’, बसुन्धरा भुषाल लगायतको अभिनय रहनेछ । चलचित्रको नायिका भने अहिलेसम्म पक्का भएको छैन । दिपाश्री निरौलाले निर्देशन गर्ने यो चलचित्रलाईमा सम्राट शर्माको सहायक निर्देशन रहनेछ ।

चलचित्रमा राजनराज शिवाकोटी र दिपक शर्माको संगीत हुनेछ भने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्ने दिपकले बताएका छन् । चलचित्रमा निर्मल शर्मा ‘गैँडा’सहित चलचित्रमा अभिनय गर्ने सबै हाँस्य कलाकारहरुको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu