मेरो इन्गेजमेन्ट भएको छैन, विनोद कार्की मेरो दाई हो: शिल्पा पोखरेल



Fagu-Song-Shilpa-Pokhrel
ठुलोपर्दा डटकम, काठमाण्डौ।
छवि ओझाले निर्माण गरेको ‘लज्जा’ चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेकी नायिका शिल्पा पोखरेल आइतवार निकै तनावमा देखिइन् । कुरा हो, उनको एक्कासी नेपाली मिडियामा आएको इन्गेजमेन्टको समाचारले । यो समाचार एक मिडिया हुँदै अन्य मिडियाहरुमा पनि प्रकाशन भएपछि शिल्पा बेचैन भइन् ।

समाचार प्रकाशन भएको केहि घण्टामा नै शिल्पाले आफ्नो आधिकारीक फेसबुक अकाउण्टमा स्टाटस हाल्दै उक्त कुराको खण्डन गर्दै लेखिन्, ‘मेरो झुठो इन्गेजमेन्ट भएको खबर मैले विभिन्न सञ्चार माध्यमबाट जानकारी पाएँ । यस्तो समाचार लेख्नु अघि एक पटक मलाई सोधपुछ गरेर मात्रै लेखी दिन पत्रकारसाथी, दाजुभाइमा अनुरोध गर्दछु ।’ उनको यो स्टाटसपछि यो कुरा त पुष्टि भयो कि उनले इन्गेजमेन्ट गरेकी छैनन् ।

समाचारमा आए अनुसार शिल्पाले नर्वेमा बस्दै आएका एनआरएन विनोद कार्कीसँग इन्गेजमेन्ट गरेको बताइएको छ । तर शिल्पाले भने विनोद कार्कीलाई आफुले दाई भन्ने गरेको बताइन् । उनले भनिन्, ‘उहाँ मेरो भिनाजुको साथी हो । त्यसैले केहि पटक उहाँसँग भेट भएको छ तर इन्गेजमेन्ट भएको छैन । मैले उहाँलाई दाई भन्ने गर्छु अनी कसरी म उहाँसँग इन्गेजमेन्ट गर्न सक्छु ।’ उनले अगाडी थप्दै भनिन, ‘मैले इन्गेजमेन्ट गरे भने सबैलाई थाहा दिएर गर्छु, किन मैले गुपचुपमै इन्गेजमेन्ट गर्नु ।’

उनले आफुलाई जोडेर आएको इन्गेजमेन्टका समाचारहरुले आफ्नो चरित्र हत्या गरेको पनि बताएकी छिन् । शिल्पाको हालै ‘फागु’ नामक चलचित्र प्रदर्शनमा आएको थियो भने ‘किस्मत २’ नामक चलचित्र प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu