ठुलोपर्दा डटकम, काठमाण्डौ।
होस्टेल, जेरी र ड्रिम्स चलचित्रका नायक अनमोल केसीलाई लिएर निर्माता सुवास गिरी, नायक निर्माता एवं निर्देशक भुवन केसी र टिभी फिल्मीले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । यसको आधिकारीक सम्झौता भइसकेको बताइएको छ ।
एकपछि अर्को चलचित्रको सफलताले यूवापुस्ताका ढुकढुकी बनिसकेका अनमोललाई लिएर गिरी यूनिटले ‘केशर’ नामक वर्किङ टाईटल राखिएको चलचित्र निर्माण गर्न लागेका हुन । नयाँ बर्षको साउन महिनादेखी छायाँकन हुने गरि यो टिमले गृहकार्य सुरु गरिसकेको छ । एक्शन, थ्रिलर र सोसल ड्रामामा निर्माण हुने यो चलचित्रका लागि अनमोलले केहि महिनाको तालिम पनि लिदैंछन् । चलचित्रलाई अहिलेका चर्चित सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गर्ने पक्का भइसकेको छ ।
अनमोल तीन महिने विदेश भ्रमणबाट आएपछि यस चलचित्रको विषयमा औपचारिक जानकारी दिने निर्माण पक्षको योजना छ । चलचित्रमा अनमोल एक बेलायती सैनिक लडाकुको भुमिकामा देखिन सक्छन् तर अनमोलकको भुमिकाको विषयमा भने अहिले कुनै जानकारी बाहिर आएको छैन । चलचित्रका लागि अहिले निर्माता सुवास गिरीले दुई नयाँ अभिनेत्रीहरु खोजिरहेका छन् र त्यसका लागि उनले अडिसन पनि चाँडै सुरु गर्दैछन् ।
चलचित्रमा बलीउड गायक अंकित तिवारीले २ गीत गाउनेछन् भने चलचित्रका लागि द्वन्द्व निर्देशक विदेशबाट मगाउने निर्माणपक्षको योजना छ । २०७३ सालमै प्रदर्शनमा ल्याइने तयारीका साथ जुटेको यो टिमले चलचित्रको निर्माण लगानी लगभग २ करोड नाघ्ने अनुमान गरिएको छ ।