ठुलोपर्दा डटकम। ऋतिक रोशनको पछिल्लो बहुचर्चित चलचित्र ‘क्रिश ३’ले बक्स अफिस रेकर्ड तोड्न सफल रह्यो। सात दिनमै २०३ करोड कमाउन सफल यो चलचित्र दर्शकसँगै समिक्षकसामु पनि रुचाईएको छ। यति हुँदाहुँदै पनि ‘क्रिश ३’ चोरीको आरोपबाट अछुतो रहन सकेन। दृश्य तथा संवाद चोरी हुनु सामान्य भइसकेको छ तर यो चलचित्रको बढि भएको हल्लाले सबैको नजर पर्न गएको छ।
नेपाली चलचित्रमा वलिउडको प्रभाव परेझैँ वलिउडका निर्माता निर्देशकको पनि एउटा कमजोरी छ। अधिकांश चलचित्रहरु हलिउड चलचित्रबाट प्रेरित पाईन्छन्। खासगरी जब सुपरहिरो अथवा साईन्स फिक्सन चलचित्र बनाईन्छ तीनमा कहिँ न कहिँ हलिउडबाट तानिएका दृश्य भेटिन्छन्। ‘क्रिश ३’ मा पनि यहि कमजोरी उजागर भएको छ। चलचित्रमा रहेको मानवर होस् या क्रिशको एक्शन हलिउड चलचित्रबाट भित्र्याईएका छन्।
फिल्मका अधिकांश भिलेनको एक्शन र स्वरुप हलिउडसँग मिल्छन्। पोस्टर समेत यो मामलाबाट अछुतो छैन।
कंगना रणावतले कायाको भुमिका त मजबुद बनाईन् तर उनको यो चरित्र हलिउडको सफल फिल्म ‘एक्स म्यान’की ‘मिस्टीक’को चरित्रसँग ठ्याक्कै मिल्छ। जसले आफ्नो रुप बदल्न सक्छे। अरुको शरिर लिएर जहाँ पनि जान सक्छे। ‘एक्स म्यान’मा जेनिफर लरेन्सले सो भुमिका निभाएकी थिइन्। उक्त फिल्म म्यूटेंट्स (मानवर)मा आधारित थियो।

‘सुपरम्यान: म्यान अफ स्टील’बाट उतारिएको यो दृश्यको बयान गरिराख्नु जरुरी छैन। सुपरम्यानमा हिरोले ऋतिकले जसरी मानिसलाई नै बचाउने गर्थे।



क्रिश ३ मा कालले बनाएको एउटा यस्तो ठाउँमा घर छ, जुन ठाउँमा कहिल्यै हिउँ पर्न छोड्दैन। हलिउड फिल्म ‘ब्याटम्यान बिगिन’मा पनि त्यस्तै ठाउँमा त्यस्तै प्रकारको घर छ। राकेश रोशनको यो आईडियालाई आफ्नै भन्न कसरी मिल्ला ?
काल पात्रको रुपमा विवेक ओवरायले पनि अभिनयमा न्याय गरेका छन् तर उनको यो भुमिका पनि हलिउडको एक पात्रसँग मिल्दो-जुल्दो छ। ‘एक्स म्यान’कै प्रोफेसर चार्ल्स जेनियरको भुमिकासँग कालको चरित्र मिल्न जान्छ। क्रिश ३ मा कालको शरिर चल्दैन भने जेनियरको शरिर सम्म चल्छ। ‘एक्स म्यान’मा चार्ल्स जेनियर ह्विल चेयरमा नै बसेर काम गर्छन्।
हलिउडको ब्लकबस्टर फिल्म ‘दि म्याट्रिक्स ट्राइलोजी’को पोस्टर र ‘क्रिश ३’ को पोस्टर तुलना गर्नुहोस्, जहाँ सुपर हिरोको ड्रेस र स्टाईल नियाल्नुहोस्। म्याट्रिक्स हिरो नियोले सँधै कालो चस्मा लगाउँछन्, दिन होस् या रात। क्रिश हिरो ऋतिक मास्क लगाउँछन्। नियो र ऋतिकको ड्रेस पनि मिल्न जान्छ।