बर्दिवासको मुसहर बस्तीमा धुर्मुस पुग्दा … (भिडियो)



musahar-bastima-dhurmus

आरके महतो, बर्दिबास। मुसहर बस्ती बनाउन धुर्मुस अर्थात कलाकार सिताराम कट्टेल महोत्तरीको बर्दिबास पुगेका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षिया मरनी सादा मंगलबार विहानै देखि खुशी थिइन् । बिहानै देखि उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिएइन् ।

मरनी बर्षौँदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन् । कठ्यांग्रिदो जाडोमा भूइँमै पराल ओछ्याएर र बोरा ओढेर रात काट्दै छिन् । मरनीले धुर्मुशलाई भेटेपछि निकै खुशी हुँदै भनिन्, ‘ हाम्रो त जीवन नै बर्बाद भएको थियो । घर बनाउन लाग्नु भयो खुशी लाग्यो । ल बाबु ठूलो मानिस बन्नु, यो बुढी आमाको अशिर्वाद छ’ ।

मंगलबार बिहानैदेखि मुसहर बस्ती बनाउन धुर्मुस मुसहर बस्ती आउने खबरले बर्दिबासका मुसहर बस्तीका स्थानीयहरु उनी आउने बाटो कुरी रहेका थिए । एका बिहानै दाउरा लिन जंगल पुग्ने मुसहरहरु मंगलबार धुर्मुसको स्वागतमा जुटे । कोही छिमेकीको आगनबाट फूल टिपेर ल्याए । कोही माला उने । कोही बस्ती सरसफाइमा जुटे । बस्तीका अगुवा मञ्जय सादाले ‘धुर्मुस सर हजुर कता आइपुग्नु भयो’ भनेर सोध्दै सूचना संकलन गरेर बस्तीका स्थानीयलाई जानकारी गराई रहेका थिए ।

धर्मुसको प्रतिक्षामा बसेका मुसहरहरुका अगाडी हाँस्य कालाकार तथा समाजसेवी धुर्मुस पुगेपछि उनीहरु खुशीले गद-गद भए । मुसहर बस्तको माहौल रोमाञ्चक बन्यो । मुसहरहरुले खुशी भएर धुर्मुसको गलादेखि शिर सम्म माला लगाई दिए । निदारमा टलक टल्किने रातो र पहिलो अक्षतालगाई दिए । धुर्मुस—सुन्तलीको पहलमा बस्ती भित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेष रुपमा धाराबाट अमखोलमा ल्याइएको पानी खुवाएर खुशियाली साटे ।

धुर्मुशलाई मुसहरहरुले घरघर घुमाए । धुमुर्स —सुन्तलीले मुसहरको घर बनाइ दिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुई सय सत्तरी जना मुसहरमा खुशियाली छाएको हो । धुर्मुस—सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) बस्तीको पहिलो चरणको निर्माण कामको लागि काठमााडौंबाट बर्दिबास आएका हुन् ।

स्थानीयको स्वागतले आफूहरुलाई काम गर्न हौसला बढाएको धुर्मुसले व्यक्त गरेका छन् । ‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मुल फुटाउन खोजेका हौं । मुसहर बस्तीबाट देशभरी नै समानतको र सद्भावको सन्देश जानेछ । सबैतिरका विभिन्न पिढिमा मलहम पट्टी लगाउने अभियानको थालनी हुने कुरामा म विश्वस्त छु,’ धुर्मुसले भने, ‘हामी सबै खटिएमा देश अवश्य बन्छ ।’

राष्ट्र निर्माणमा यो अभियानलाई आत्मसाथ गर्दै सबै जना एकताको सूत्रमा बाँधिएर देश विकासमा लागनु पर्ने बेला आएको उनले बताए । ‘हामीले बोक्ने गरेको भारीले देश बनाउँछ । राजनीतिक नारा लिएर धेरै पटक सडकमा आयौँ । एक पटक विकासको नारा लिएर सबै जना गाउँ-गाउँ पसौँ । दुई बर्षमै देशमा कायापलट हुनेछ’, उनले बताए ।

मंलबारनै धुर्मुसले राजनीतिक दलका स्थानीय नेताहरुसँग मुसहर बस्ती निर्माण सम्बन्धमा अन्तरक्रिया तथा सार्वजनीक सुनवाई गरेका छन् । स्थानिय राजनीतिक दलले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्न तयार भएको सामुहिक रुपमा प्रतिबद्धता सहित घोषणा गरेका छन् ।

चार करोड अठहत्तर लाखको लागतमा मुसहर बस्ती निर्माण कार्य हुँदैछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार स्वरुप दिने योजना सहित धुर्मुस—सुन्तली फाउण्डेसनले काम थालनी गरेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu