ठुलोपर्दा डटकम, काठमाण्डौ।
अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको प्रवद्र्धनको लागि ऐतिहासिक अवसरको आयोजना हुने भएको छ । यही २०१७, मार्च ३१ तारिखदेखि अप्रिल ९ सम्म फेस्टिभल इन्टरनेशनल डी फिल्मस् फ्रिवर्गको आयोजनामा स्विजरल्याण्डमा फ्रिबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा न्यू टेरिटरी विधा अन्तर्गत यस वर्ष विभिन्न नेपाली चलचित्रको विशेष प्रदर्शनी हुन लागेको हो ।
चलचित्र विकास वोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार कथानक चलचित्र अन्तर्गत नेपालको पहिलो रंगीन चलचित्र कुमारी लगायत सिन्दुर, बासुदेव, कागबेनी, नुमाफुङ, मुकुण्डो, सुनगाभा, लुट, सेर्दाक, कालो पोथी, हु वील बी अ गुर्खा, सुन्तली, हाईवे, ह्वाईट सन (सेतो सूर्य) लगायतका चलचित्र प्रदर्शन हुनेछ भने सर्ट फिल्ममा दद्या, झा लो, काफल पाक्यो, मलामी, छोरा र भ्वाईस लेस नामक नेपाली लघु चलचित्रको स्वाद नेपाली एवं विदेशी दर्शकले लिने अवसर पाउनेछन् । यसैगरी नेपालमा छायाङ्कन गरिएका विदेशी चलचित्रहरूमध्ये हलिउडको एभरेष्ट, कोरियाको हिमालय, जापानको एभरेष्ट–समिट अफ द गड्स, एरिक भ्यालीको डकुमेन्ट्री हिमालयन गोल्ड रस पनि समेटिएका छन् ।
महोत्सवमा प्रत्येक चलचित्र कम्तीमा दुई पटक प्रदर्शन गरिनेछ । यस महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रको फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत नेपाली चलचित्र ‘ह्वाईट सन (सेतो सूर्य)’ र सर्ट फिल्ममा ‘झा लो’ले अन्य विदेशी चलचित्रहरूसँग प्रतिस्पर्धा गर्नेछन् । यस महोत्सवमा नेपालका निर्देशक सुवर्ण थापा अन्तर्राष्ट्रिय जुरीमा रहेका छन् भने अप्रिल ५ मा हुने नेपाली चलचित्रको विकास सम्बन्धी पव्लिक राउण्ड टेवल डिस्कसनमा नेपालका निर्देशक दिपक रौनियार, सुवर्ण थापा, सेनाङ्ग ग्याम्जो तामाङ्ग र निर्माता रामकृष्ण पोखरेल लगायतले सहभागिता जनाउनेछन् । पोखरेल यस कार्यक्रमका क्यूरेटर पनि हुन् । यस महोत्सवमा नेपाली चलचित्रहरूको विशेष प्रदर्शनी हुनमा चलचित्र विकास वोर्ड, नेपालको महत्वपूर्ण भूमिका रहेको छ ।उक्त महोत्सवमा प्रदर्शन हुने चलचित्रहरूलाई अंग्रेजी र फ्रेन्च भाषामा समेत सबटाइटलिङ्ग गरिएको छ ।
यो स्तरको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली चलचित्रलाई प्राथमिकतापूर्वक प्रदर्शन गरिनुमा पछिल्लो समय नेपाली चलचित्रले अन्तर्राष्ट्रिय जगतमा देखाएको उल्लेखनीय प्रशंसा र सम्भाव्यता मुख्य कारक रहेको बताईएको छ ।