काठमाण्डौ। ‘हिट्लर’ नाम तपाइँलाई थाहा नै छ । यो नाम जर्मनका पूर्व शासकको हो । यहि नामबाट अहिले नेपालमा चलचित्र बनेको छ । ट्रेलर र गीत रिलीज भएपछि हाल यो चलचित्रको हाइप बढिरहेको छ ।
जेठ १२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई नामले भने समस्या दिएको छ । शोसल मीडियाका दुई साइटहरु यूट्युब र फेसबुकले यो चलचित्रलाई झमेला बनाएको छ । अंग्रेजीमा ‘हिटलर’ नाम राखेर फेसबुकमा लाइक पेज बनाउन यसको निर्माणपक्षले सकेन ।
यस बिषयमा चलचित्रका निर्देशक सौरभ ढकालले भनेका छन्, ‘हामीलाई फेसबुकले हिटलर नाम राखेर लाइक पेज बनाउन दिएन । युटुबले भिडियो त हटाएको छैन । तर, गीतको भ्यू कहिले घट्ने, कहिले काउन्ट नै नहुने भईरहेको छ । हामीले युटुबमा कप्लेन गरेपछि प्राविधिक गढबढी भएको सन्देश आयो । तर, अहिले युटुबले प्रचारमा समस्या दिने अवस्था देखिएको छ ।’
जर्मनका पूर्व शासक ‘हिटलर’को नामसँग चलचित्रको नाम मिलेका कारणले फेसबुक र युटुबले समस्या दिएको हुनसक्ने यसको निर्माणपक्षको बुझाई छ ।
अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सोहित मानन्धर र सामिया बर्तौला मुख्य भूमिकामा छन् । चलचित्रको रारा तालमा खिचिएको एक गीतको भिडियोले अहिले सामाजिक संजाल र मिडियामा राम्रो चर्चा पाइरहेको छ ।