काठमाण्डौ। ‘त त मैले मात्र भन्न पाउँछु’ । यो संवाद तपाईँलाई याद छ होला जसले चलचित्र ‘प्रेम गीत’ हेर्नुभएको छ । चलचित्र ‘प्रेमगीत’मा नायिका पूजा शर्माले यो संवाद बोलेकी थिइन् । अब तपाईँले पूजाको यो संवाद नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु’मा पनि सुन्न पाउनुहुनेछ ।
यतिबेला काठमाण्डौको सिने जोन स्टूडियोमा चलचित्रको डबिङ् भईरहेको छ । नायिका शर्मा चलचित्रको डबिङमा व्यस्त थिइन् । उनले अर्को संवाद बोलिन्-‘फेरि एकचोटी बच्चा हुन पाए, त्यही तन्नेरी अवस्थामा जिउन पाए, अर्को जुनी पनि तिमीसँगै लिन पाए ।’ उनले अर्को रमाइलो संवाद बोलिन्-‘यो रोड त मेरो हो, कसले के गर्न सक्छ र ?’
असार ३० गतेबाट रिलिज हुने यो चलचित्रमा पूजाको जोडीको रुपमा नायक पल शाहले अभिनय गरेका छन् । चलचित्र भित्र पनि पलको नाम ‘पल’ नै हुनेछ । पूजाले एउटा यस्तो संवाद डबिङ गरिन्-‘सबैथोक आफूले चाहेको मात्र हुँदोरहनेछ पल ।’
चलचित्रको ‘भन्छु आज’ बोलको गीतको भिडियो सार्वजनिक भैसकेको छ भने अडियो जुकबक्स पनि रिलिज भैसकेको छ । दर्शकले चलचित्रको अडियो र भिडियोलाई अत्याधिक रुचाएका छन् ।
प्रेमकथामा आधरित यो चलचित्रको बारेमा पूजा भन्छिन्-‘यसपटक पनि दर्शकले मलाई चलचित्र हेरिसकेपछि संझने धेरै संवादहरु चलचित्रमा छन् । गीतको रुपमा ‘प्रेमगीत’मा दर्शकले मलाई जसरी रुचाइदिनुभयो, त्यसरी नै ‘म यस्तो गीत गाउँछु’बाट माया पाउनेमा ढुक्क छु ।’