काठमाण्डौ। दुई साता अघि देश दौडाहामा निस्किएको ‘प्रेमगीत २’ यूनिट राजधानी फर्केको छ । दुई हप्ता बीचमा सांगीतिक यात्रामार्फत चलचित्र दर्शकको दैलो-दैलो पुगेको छ ।
दमौली फुटबल मैदान, पोखरा चिप्लेढुंगा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी हुँदै बिर्तामोडबाट यात्रा टुंगिएको छ । अब राजधानीका काठमाडौं, ललितपुर र भक्तपुरमा प्रेमगीत गुञ्जाउन कलाकार तयार छन् ।
‘हामी कन्सर्टमार्फत वास्तविक दर्शकसामु पुग्न चाहन्थ्यौं’ राजधानी फर्किन आँटेका निर्माता सन्तोष सेन भन्छन्, ‘एघार शहरमा हामीले एउटै मन पायौं दर्शकको । दर्शक प्रेमगीतबाट स्तरिय मनोरन्जन चाहन्छन् ।’ निर्मातासँगै कलाकारहरु प्रदीप खड्का र अश्लेषा ठकुरी पनि देश दौडाहामा थिए ।
साउन १३ गते रिलिज हुने चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका छन् । नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको चलचित्रले तत्कालिन बर्मा र जापानबीचको युद्ध स्थापना गर्ने बताईन्छ ।
कभर गीत गाउने म्याद बढ्यो
‘प्रेमगीत २’ ले कभर गीत प्रतियोगिता आयोजना गरेको थियो । असार २० गतेसम्म भाग लिने मौका दिइएको थियो । अब इच्छुक प्रतियोगीले २७ गतेसम्म गीत बुझाउने मौका प्राप्त गरेका छन् ।