साउन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत २’ पोखरा र बुटवलमा देखाईएको छ । पोखरा घरेलु फिल्मका लागि दोस्रो ठूलो बजार हो भने बुटवल चौंथो । यसैले पनि ‘प्रेमगीत २’ले दुई थलोबाट पाएको दर्शक प्रतिक्रियाले ठूलो अर्थ राख्छ । दुबै थलोमा ‘प्रेमगीत २’ले राम्रो प्रतिक्रिया पाएको छ ।
क्यूएफएक्स पोखरा र भ्यूज बुटवल हलमा आयोजना गरिएको प्रिमियरमा अभिनेता प्रदीप खड्का, अभिनेत्री अश्लेषा ठकुरी, निर्देशक रामशरण पाठक, निर्माता एवं डेब्यु अभिनेता सन्तोष सेन सहभागी बनेका थिए । प्रिमियरमा प्रदीप क्रेज पोखिएको छ । उनलाई आफ्नो क्यामेरामा कैद गर्न दर्जनौ यूवतीहरुको भिड लागेको थियो ।
युवाहरुको फेसबुक समूह मेन्स रुम रिलोडेड (एमआरआर)ले प्रिमियर आयोजनाका लागि पहल गरेको थियो । समूहले प्रदर्शनीका लागि च्यारिटी गर्दै संकलित रकम अनाथ बालबालिकालाई शिक्षा प्रदान गर्ने कार्यमा खर्च गरिने पोखरा एमआरआर प्रमुख सुवास शर्माले बताए ।
म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध ‘प्रेमगीत २’ को कथावस्तु हो । रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्मलाई सन्तोष सेन निर्माता हुन् ।