काठमाण्डौ। शुक्रवारबाट प्रदर्शनमा आउन लागेको शव चिर्ने व्यक्तिको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘भूइँमान्छे’को मंगलवार राजधानीको विग मुभिजमा रेड कार्पेट प्रिमियर गरिएको छ । दुईसय भन्दा बढी चलचित्रकर्मी, पत्रकारसँगै विभिन्न संघ सस्थाका व्यक्तिहरु उपस्थित प्रिमियरमा फिल्मका मुख्य कलाकार रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिन प्रजापति लगायतको उपस्थिती थियो ।
प्रिमियरमा सिट क्षमताभन्दा बढी व्यक्तिहरु सहभागी भएपछि सयभन्दा बढीले भूइँमा बसेर समेत फिल्म हेरेका थिए । प्रिमियरमा फिल्म ‘भूइँमान्छे’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ ।
नयाँ कथावस्तुमा निर्माण भएका कारण पनि फिल्मले प्रिमियरमा उपस्थित सबैको मन जित्न सफल भयो । प्रिमियरमा रमेश बुढाथोकीको अभिनय र पहिलो फिल्म भएपनि सिपोराको अभिनयले गज्जबको तारिफ पाएको थियो । फिल्म हेर्न नेपाली कांग्रेसका नेता महेश आचार्य पनि परिवारसहित विग मुभिज पुगेका थिए ।
फिल्म ‘भूइँमान्छे’मा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ । यस फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन । नवराज बुढाथोकीले फिल्म निर्देशन गरेका हुन् ।