काठमाण्डौ। लोकप्रिय नायक सौगात मल्लले हालै चलचित्र ‘पञ्चेबाजा’को छायांकन सकेका छन् । मंगलवार राजधानीको अनामनगरमा रहेको मण्डला थिएटरमा इन्डक्ल्याप दृश्य खिचियो ।
हातमा मसाल बोकेका सौगातले आफ्नै घर जलाउन तम्सिएका थिए । घरभित्र बुवा-आमालाई थुनेर हतमा मसाल बोकेर घरमा आगो लगाउन खोज्दै थिए । ‘मेरो बिहे गर्दिनु पर्दैन ? मलाई चाहिँ नयाँ खाटमा सुत्न मन छैन होला ? मेरो मन चाहिँ के ढुंगाको हो ? मेरोभन्दा अगाडि बिहे गर्दिनेलाई जिउँदै जलाएर मार्छु’, यो संवाद त्यतिबेला सौगातले बोलेका थिए ।
घरभित्र थुनिएका सौगातको बुबाको भूमिका निर्वाह गरेका देशभक्त खनाल भन्दै थिए, ‘ल ल ल तलाई पनि नयाँ खाट बनाइदिउँला । पहिला ढोका त खोल !’ सौगात झोकिँदै बोले, ‘अनि नयाँ खाटमा सुत्ने स्वास्नी चाहिँ कसले खोज्दिन्छ ?’
यो चलचित्रमा नायक सौगात मल्ल प्रमूख भूमिकामा छन् । चलचित्रमा सौगात एक नाटकघरका कलाकार हुन्छन् । नाटकमा काम गर्ने कलाकारको जीवन कस्तो हुन्छ र उसको जीवनमा कस्ता-कस्ता घटना आईपर्छन् भन्ने आशयमा चलचित्र ‘पञ्चेबाजा’ बनेको निर्देशक घनश्याम लामिछानेले बताए ।
चलचित्रमा सौगातका अलावा कर्मा, जस्मिन श्रेष्ठ, श्रृजना सुब्बा लगायतका कलाकारहरुको पनि अभिनय छ । न्यू भेनस फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ भने कालिप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत रहेको छ । निर्माता राजेश शाही हुन् ।