काठमाण्डौ। कार्तिक १७ मा रिलीज हुने चलचित्र ‘फाटेको जुत्ता’ले २ सय ७५ जनालाई नयाँ जुत्ता प्रदान गरेको छ । फाटेको जुत्ताको फोटो फेसबुकमा पोस्ट गरेर ट्याग गर्ने २ सय ५० जनालाई हरेक हप्ता नयाँ जुत्ता उपहार दिने ‘स्किम’ अन्तर्गत जुत्ता प्रदान गरिएको हो ।
शनिवार राजधानीमा एक कार्यक्रमका बीच नायक सौगात मल्ल र नायिका वर्षा राउतले नयाँ जुत्ता प्रदान गरेका थिए । फिल्मको नयाँ जुत्ता उपहार योजनामा गोल्डस्टार कम्पनीले सहकार्य गरेको छ । फिल्मका निर्माता अर्जुन कुमारका अनुसार, कार्यक्रममा फाटेको जुत्ता लगाएर आउने व्यक्तिलाई पनि नयाँ जुत्ता दिइएको थियो ।
अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई ‘जिन्दगी रक्स’का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । फिल्ममा नायक दयाहाङ राई र नायिका वर्षा राउत केमियो भूमिकामा छन् ।
भिडियो: