काठमाण्डौ। यो हप्ता चार नेपाली चलचित्रहरु एकसाथ रिलिज भएका छन् । बसन्त निरौला निर्देशित ‘मेला’, साम्तेन भुटिया निर्देशित ‘तान्द्रो’, शंकर कार्की निर्देशित ‘रोमियो’ र एनवी महर्जन निर्देशित ‘सकस’ रिलीज भएका हुन् ।
हरि पन्तको लेखन रहेको फिल्म ‘मेला’का उनी आफै सह–निर्देशक तथा प्रस्तुतकर्ता हुन् । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘मेला’मा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।
हसनराजा खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका रहेको फिल्म ‘रोमियो’ले त्रिकोणात्मक प्रेम कथालार्इ उठान गरेको छ । फिल्ममा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ ।
दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको ‘सकस’का निर्माता सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागी हुन् । फिल्ममा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।
‘तान्द्रो’ले तत्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई पर्दामा देखाउन खोजेको छ । फिल्ममा दयाहाङ राईको मुख्य भूमिका छ । वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो ।
उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पीडालाई ‘तान्द्रो’ मा मुख्य रुपमा उतार्न खोजिएको छ । कमरेड कोशिशको भूमिकामा दयाहाङ प्रस्तुत भएका छन् ।
यो फिल्ममा दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको अभिनय छ ।