मंसिर २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘माइ लभ’ ले चलचित्र हेरिसकेका दर्शकहरुमध्ये गोलाप्रथाद्वारा भाग्यशाली एक जनालाई जापान जाने अवसर दिने भएको छ । चलचित्र हेरेका दर्शकले टिकट नं. र हलको नामसहित ‘माई लभ’को फेसबुक पेजमा इनबक्स गर्नुपर्नेछ ।
एक जना भाग्यशाली दर्शकले आगामी अप्रिल २५ तारिखमा जापानमा हुन लागेको ‘माई लभ’को प्रिमियरमा सहभागी हुने मौका पाउनेछन् । हाल मोफसल दौडाहामा रहेका चलचित्रका कलाकारले ‘माई लभ’ एउटा सामान्य चलचित्र मात्र नभएर आगामी पुस्ताका लागि एउटा महत्वपूर्ण दस्तावेज रहेको बताएका छन् ।
भुकम्पपछि जापानले देखाएको सहानुभुती र सहयोगको कथा चलचित्रले पेश गरेको छ । अभिनेत्री शितल श्रेष्ठले महत्वपुर्ण र जटिल बिषय उठाएको चलचित्रबाट डेब्यु गर्न पाउने सौभाग्य प्राप्त गरेकोमा खुसी व्यक्त गरिन् ।
फिल्म क्रियशन नेपालको निर्माणमा बनेको ‘माई लभ’मा जापानबाट युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गणेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायत कलाकारहरुको मूख्य भुमिका रहेको छ । चलचित्रमा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भिएफएक्स रहेको छ ।
जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको यस चलचित्रमा बैशाख १२ गते गएको भुकम्पको सेरोफेरो र भूकम्पका बेलमा मानिसका देखिएका संवेदना र माया प्रेमलाई समेटिएको छ ।
भुकम्पको बेलामा कसरी संयमित हुने, कसरी पुनर्निमार्णमा लाग्ने र आफ्नो नजिकका मानीसहरु भन्दा समग्र सबैमा माया प्रेम कसरी प्रकट गर्ने भने मूख्य विषय चलचित्रमा रहेको छ । बिशेष गरि काठमाडौं महानगरभित्र भुकम्प पछिको अस्तव्यस्तलाई चलचित्रले चित्रण गर्न खोजेको बताईएको छ ।