तराई क्षेत्रमा व्याप्त दाईजो प्रथाको विषयमा निर्माण भएको चलचित्र ‘राज्जा रानी’ पुष २१ गतेबाट प्रदर्शनमा आउँदैछ । आइतवार राजधानीमा नायिका केकी अधिकारीको जन्मदिन सेलिव्रेट गर्दै ‘राज्जा रानी’ यूनिटले वाल विवाह र दाइजो प्रथाको विषयमा बहस पनि चलायो । सोमवारबाट मोफसल दौडाहा सुरु गर्न लागेको यो चलचित्रलाई ‘भोर’ नामक संस्थाले मैथिली भाषामा पनि प्रदर्शन गर्दैछ ।
‘भोर’ संस्थाका अध्यक्ष राजकुमार महत्तोले भने, ‘मनोरञ्जनको माध्यमबाट भएपनि समाजमा एउटा सन्देश दिन सकिन्छ भन्ने उद्येश्यले ‘भोर’ संस्थाले ‘राज्जा रानी’लाई मैथिली भाषामा डब गरेर प्रदर्शन गर्न लागेको हो ।’ ‘भोर’ले लामो समयदेखि बाल विवाह र दाइजो प्रथा विरुद्ध सन्देशमुलक अभियान चलाउँदै आएको छ ।
निर्देशक यम थापाले ‘राज्जा रानी’ पूर्ण रुपमा मनोरञ्जनात्मक चलचित्र भएपनि समाजमा सन्देश पनि प्रवाह गर्ने बताए । चलचित्रका निर्माता रमेश एमके पौडेलले ‘राज्जा रानी’ सन्देशमुलक चलचित्र रहेको बताउँदै दाईजो प्रथाको अन्त्यका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्न पनि आग्रह गरे ।
यस्तै, ‘बर्थ डे गर्ल’ नायिका केकी अधिकारीले पनि चलचित्रले दाईजो प्रथा अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताइन् । यो चलचित्रमा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।