नारायण गोपालको स्वरले छोएपछि कमजोर गीतहरु सवल भएर दौरिन्थे



ठुलोपर्दा डटकम, काठमाण्डौ। नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपालको आज २३ औ स्मृति दिवस परेको छ । नेपाली संगीतलाई फरक धारमा प्रस्तुत गरी कालजयी गीत गाउने सुमधुर स्वरका धनी नारायण गोपालका गीतहरु आज पनि स्रोताका रोजाइ बन्ने गरेका छन् । नारायण गोपालबारे केहि जानकारीः

नारायण गोपाल एउटा यस्तो गायक थिए, जसको स्वरले जस्तोसुकै गीतलाई पनि जीवन दिनसक्थ्यो, गति प्रदान गर्न सक्थ्यो । उनको स्वरले छोएपछि कमजोर भन्दा कमजोर गीतहरु सवल भएर दौरिन्थे । संगीतकार र गीतकारको सिर्जनालाई ‘जस्टिफाई’ गर्नसक्ने क्षमता थियो उनको स्वरमा । यसबाहेक उनमा एउटा विलक्षण समयचेत पनि थियो । त्यसैले उनले हरेक कालमा गाएका गीतहरुमा त्यस काललाई मात्र होइन, अनन्त भविष्यलाई पनि हाँक्न सक्ने क्षमता थियो ।
narayan-gopal
उनले गाएका जुनसुकै गीतमा पनि यो शक्ति थियो । उनकै पुस्ताका कतिपय लोकप्रिय गायक गायिकाका गीतहरु आज अर्काइब भइसकेका छन् । केही कलाकारहरु जीवितै छन् तर यस पुस्ताका गायक गायिकाले पनि चिन्दैनन् । श्रोताले त झन् विर्सी नै सके । तर, नारायण गोपाल हरेक संगीतपुस्ताका गुरु र श्रोताका मानक रहे । हरेक पुस्ताका गायकले उनका गीत गाएरै आफ्नो स्वरमा धार लगाए । आफ्नो गायकीको पहिचान गरे र गन्तव्य पहिल्याए । हरेक पुस्ताका श्रोता उनको चुम्बकीय गायनमा एकनास तानिइरहे । त्यसैले आज पनि उनी हरेक रेडियोको श्रोता सर्वेक्षणमा अब्बल गायकमध्ये पर्छन् ।

उनको विचित्रको स्वभाव थियो । उनी आफूले चाहेका बेला सबैसँग नजिक हुन्थे । तर अरु कसैले चाहेका बेला उनलाई नजिक पार्न असम्भव थियो । सुरा र यस जन्यकुरामा उनी जोसाग जति पनि जान सक्थे । स्कच र ठर्रामा त्यति ठूलो विभेद गर्दैनथे । तर गीत गाउने कुरामा शुद्ध बाहुनले धोती लगाएर भोजन गरेजस्तै थियो, गीतको सारा विधिविधानहरु पुरा हुनुपर्थ्यो । उनका सुर र सुराका बराबर साथीहरु थिए । तर, उनले सुरलाई सुरामा, र सुरालाई सुरमा कहिल्यै मिसिन दिएनन् ।
narayan-gopal1
उनको स्वरमै यस्तो मादकता थियो, श्रोताहरु उनका हरेक गीतमा लट्ठिन्थे, सुरको नसाले । उनी कसैका गीत छनौट गर्दा संगतका आधारमा होइन, गीतका गेडा र संगीतको विलक्षणताका जगमा उभिएर छान्थे । उनले आफ्नो मनले नखाई चाँदनी शाहको गीत पनि गाएनन् । उनलाई मनपर्ने गीत पाउन बडो गाह्रो थियो । आफूले संगीत दिने गीत मन नपरुन्जेल उनी संगीत नै भर्दैनथे । यस विषयमा उनलाई कसैले करकाप गर्न पनि सक्दैनथ्यो । उनी गीत संगीतको निर्णयमा अडिग र एकल थिए ।

नारायण गोपालको निधन भएको डेढ दशक वितेपनि उनी नेपाली संगीतको वर्तमानमानै छन् । आज पनि उनी त्यही उचाईमा छन्, जहाँ उनी आफ्नो जीवनकालमा थिए । अहिलेपनि त्यही स्नेह, मोह र श्रद्धा बटुलेर श्रोताहरुको हृदय जिती नै रहेका छन् । अहिलेका संगीतकर्मीहरुले नारायण गोपालको सुरापानको होइन सुर पहिचान र प्रस्तुतिकलाको विलक्षणताको सिको गर्नु उपयुक्त हुन्छ । नारायण गोपाल गायक हुन् । महान गायक हुन् । स्वरको सगरमाथा हुन् । अहिलेसम्म नेपालले जन्माएको गायकहरुमा सर्वश्रेष्ठ गायक हुन । यो स्तरको गायक सजिलै र घरिघरि जन्मन गाह्रो छ ।
(पत्रकार राजाराम फूयालको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu