नायिका रेखा थापा र नायक सविन श्रेष्ठको मुख्य भूमिका रहेको एक्सन प्रधान चलचित्र ‘हिरो रिटर्न्स’को अफिसियल रिलिज डेट घोषणा भएको छ । छायांकन सम्पन्न भएको लामो समय पश्चात चलचित्रलाई नयाँ बर्ष २०७५ को बैशाख २८ बाट प्रदर्शनमा ल्याउने निर्माण टिमले औपचारिक घोषणा गरेको छ । यो चलचित्र नायिका रेखाको डेब्यू चलचित्रको नेम सिक्वेल हो ।
अभिनेता तथा निर्माता सविनले यसअघि नै चलचित्रको सम्पुर्ण काम सकिए पनि त्यसमा केहि कुराहरु चित्तबुझ्दो ननिस्केको र ‘रि सुट’को आवश्यकता देखिएपछि रिलिजमा केहि अन्तर देखिएको बताए । उनका अनुसार चलचित्रमा समावेश केही दृश्यहरु पुनः छायांकन गरिएको छ ।
‘‘हिरो’ चल्दाको समयदेखि अहिलेसम्म नेपाली चलचित्र हेर्दै आउनुभएका सबै दर्शक लक्षित चलचित्र बनाउने हाम्रो लक्ष्य हो त्यसैले उत्कृष्टमा पनि उत्कृष्टता खोज्न केहि दृश्यको लागी पुनः छायांकनमा गएका हौँ’, सविनले भने । चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।
यो चलचित्रमा सविन र रेखासँगै दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायत लिड अभिनयमा छन् ।
कमेडी एक्सन जनरा भनिएको चलचित्रमा शिवम अधिकारीको कथा छ भने मदनकाश्यप घिमिरेले क्यामेरा चलाएका छन् । दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहनेछ ।
चन्द्र गौतम यो चलचित्रमा कार्यकारी निर्माता हुन् । सविन फिल्मस् को ब्यानरमा बनेको चलचित्र ‘हिरो रिटर्न्स’मा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् । यसैबीच नेपाल रिलिज पुर्व चलचित्रको कतार, अष्ट्रेलियासँगै लण्डन प्रिमियर हुने भएको छ ।