कलाकार भनेको अरुलाई हँसाउने तर आफ्नो परिवारलाई रुवाउने हो । किन भने कलाकारले अरुलाई समय दिँदा दिँदै आफ्नो परिवारलाई समय दिन सक्दैन । सधै अरुको खुशीको लागि मेहनत गरिरहन्छ तर आफ्नो परिवारको खुशीको लागि मेहनत गर्न बिर्सिन्छ ।
हास्यकलाकार तथा फिल्म निर्माता सुलेमान शंकर ‘ईकु’ले पर्दामार्फत धेरैलाई हँसाएका छन् । सँधै अरुलाई हँसाउने तथा मनोरञ्जन दिलाउने पेशा अंगालेका ईकुको आफ्नो जीवनमा भने हाँसो–खुसी भन्दा आँसुले धेरै स्थान पाएको छ । उनले जीवनमा भोगका दुःखहरु कम दर्दनाक छैनन् । सुःखको अनुभुती पनि उनले राम्रै महशुस गरेका छन् ।
‘ईकु’ चलचित्र बनाएर आफ्नै परिचय नै बदलेका सुलेमान शंकर अभिनीत नयाँ चलचित्र ‘फिर्के’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई उनी आफैंले निर्माण समेत गरेका हुन् । ‘ईकु’को सफलतापछि उनले ‘ईकु ब्याक अगेन’ निर्माण गरे । तर, बक्स अफिसमा यो चलचित्र असफल साबित भयो । यो चलचित्रको अफलताका कारण ‘ईकु’ले जीवनमा यति धेरै संघर्षको सामना गर्नुपर्यो कि जसले गर्दा उनले जिन्दगीबाट नै हार खाएका थिए ।
‘ईकु २’ का निर्माताहरुले उनलाई नेपाल बस्न समेत नदिने अवस्थामा पुर्याएका थिए । ठूलोपर्दा टिभीसँगको एक भेटमा सुलेमानले भने, ‘त्यसबेला मैले बाँच्ने आशै मारेको थिएँ । धेरै अपशब्दहरु सुनेँ, जुन मेरो आमा-बुबाले पनि भन्नुभएको थिएन । मैले ‘ईकु २’ साथी-भाईसँग मिलेर निर्माण गरेको थिएँ । तर, त्यही साथी-भाईले ‘ईकु २’ असफल भएपछि मलाई मर्नु न बाँच्नु अवस्थामा पर्याए । म तिर्दैछु अझैसम्म पनि उहाँहरुको पैसा । यहाँ सबैले बलेकै आगो ताप्ने रहेछन् ।’
यो अवस्थाबाट गुज्रिदै गर्दा उनले अर्को चोटको सामना गर्नुपर्यो । उनको श्रीमतीसँग डिभोर्स भयो । ‘मैले उहाँलाई तीन पटकसम्म माफी दिएको थिएँ । मैले उहाँलाई केहीपटक होटलबाट समेत लिएर आएको थिएँ । तर, उहाँले त्यो कुरालाई आत्मलोचना गर्नुभएन । त्यसपछि हाम्रो डिभोर्स भयो ।’, ईकुले गम्भीर मुद्रामा भने ।
उनी अगाडि थप्छन्, ‘जीवन एउटा रफ्तार हो, संघर्ष हो । म अझै पनि संघर्ष गरिरहेको छु । जिन्दगी एउटा यात्रा हो । यात्रामा धेरै मानिससँग भेट हुन्छ । एकदिन त्यो यात्रा कहाँ गएर टुंगिन्छ त्यो आफैंलाई नै थाहा हुँदैन ।’
सुलेमान अभिनीत तथा निर्मित चलचित्र ‘फिर्के’लाई रवि डंगोलले निर्देशन गरेका हुन् । यो चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
भिडियो :-