ऋतिक-सुजैन अलग्गिए | श्रीमतीको शंकाले घरबार टुट्यो



hritikठुलोपर्दा डटकम। बलिउड सुपरस्टार ऋतिक रोशन र उनकी श्रीमती सुजैन रोशन अन्ततः औपचारिक रुपमै अलग भएका छन् । एक वक्तव्य निकाल्दै ऋतिकले आफूहरु अलग भएको पुष्टि गरेका हुन् । उनका अनुसार सुजैनले नै अलग हुने निर्णय गरेकी हुन् ।

ऋतिकले निकालेको वक्तव्यमा भनिएको छ, ‘सुजैनले मसँग छुट्टिने निर्णय गरेकी छन् । हामीबीचको १३ वर्ष लामो सम्बन्ध अब समाप्त भएको छ ।’ ऋतिकले आफू र दुवै जनाको परिवारका लागि यो निकै पीडादायी समय भएको भन्दै मिडिया र आम नागरिकलाई आफूहरुको गोपनियताको ख्याल गर्न पनि आग्रह गरेका छन् । यो खबरले विवाह जस्तो शब्द प्रतिको आफ्ना प्रशंशक र अरु मानिसको विश्वास कम होस् भन्ने आफूले नचाहेको भन्दै उनले विवाहप्रति आफ्नो पूर्ण विश्वास रहेको र हरतरहबाट आफूले यसको सम्मान गर्ने ऋतिकले बताएका छन् ।

उनले आफ्ना प्रशंशकलाई धन्यवाद दिंदै भनेका छन्, ‘म उनीहरुप्रति आभारी छु जसले मेरो स्वास्थ्यको चिन्ता गरेका छन् । मेरो उपचार सहि रुपमा भईरहेको छ र म छिटै सामान्य जिन्दगीमा फर्किनेछु ।’ उनीहरुबीच लामो समयदेखि सम्बन्ध बिग्रिएको र अलग भएको खबर आइरहेपनि अहिले बल्ल ऋतिक आफैँले त्यसको पुष्टि गरेका छन् । सम्बन्ध सुमधुर नरहेपछि सुजैन लामो समयदेखि माइतीमा बस्दै आएकी छन् । सुजैनले ऋतिकको अर्कै केटीसँग समबन्ध रहेको शंका गर्न थालेपछि विवाद चुलिएको थियो।

ऋतिक र सुजैन खान सन् २००० डिसेम्बर २० तारिखमा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुका दुई जना छोरा ऋहान र ऋदान छन् । ऋतिक चर्चित निर्देशक, अभिनेता राकेश रोशनका छोरा हुन् भने सुजैन अभिनेता सञ्जय खानकी छोरी तथा हिरो जायद खानकी दिदी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu