भारतको चर्चित रियालिटी शो ‘झलक दिखला जा’ र ‘डीआइडी-३’ की विजेता नेपाली मुलकी तेरिया फौजा मगर नेपाली चलचित्रमा अभिनय गर्न लागेको खबरका कारण केही दिनयता चर्चामा छिन् ।
तेरियालाई डान्स गुरु सुजन विश्वकर्माले ‘मायाको मोल’ नामक चलचित्रको प्रस्ताव गरेको र उनी बिना पारिश्रमिक फिल्म गर्न राजी भएको समाचार ठूलोपर्दाले पनि प्रकाशित गरेको थियो । निर्माता म्याक टेन कालु स्वयमले तेरिया चलचित्रमा कन्फर्म भएको बताएका थिए ।
तर, तेरियाबाट यस विषयमा औपचारिक जानकारी प्राप्त भएको थिएन । सोमवार उनले आफ्नो आधिकारिक फेसबुकमा आफूले कुनै चलचित्र साइन नगरेको र तत्काल फिल्म गर्ने सोचमा रहनेको भन्दै स्टाटस लेखेकी छन् ।
‘विभिन्न समाचार माध्यममा आइरहेको भ्रामत्मक समाचारप्रति मेरो ध्यानआकृष्ट भएको छ । म आजका दिनसम्म कुनै पनि चलचित्रका लागि अनुबन्धित भएकी छैनँ । साथै म चलचित्र खेल्ने तयारीमा पनि छैन । झुटो समाचारले मेरा शुभचिन्तकहरुमा पलाएको उत्साह र निरासाप्रति क्षमा याचना गर्न चाहन्छु’, उनले फेसबुकमा लेखेकी छन् ।
एक सञ्चारमाध्यमसँगको कुराकानीको क्रममा उनले आफूलाई २-४ चलचित्रबाट अफर आएपनि अहिले आफू अध्ययनमा फोकस भएका कारण तत्काल कुनै चलचित्र नगर्ने बताइन् । उनले आफूले सुजन विश्वकर्मा पनि नचिन्ने बताएकी छन् ।
तेरियाको यो स्पष्टिकरण पश्चात् सुजन विश्वकर्मा र म्याक टेन कालुले सस्तो लोकप्रियताका लागि भ्रामक हल्ला फैलाएको देखिएको छ ।