फत्तेमानको निधन सपना जस्तो: संगीतकर्मी



phatteman-raj-bhnadariसुकृत नेपाल, काठमाण्डौ। नेपाली स्वरका धनी बरिष्ठ गायक फत्तेमान राजभण्डारीको सोमवार राती निधन भएको छ । चावहिलको ओम अस्पतालमा उहाँको निधन भएको हो । फोक्सोबाट ग्रसित गायक फत्तेमानलाई क्यान्सर भएको थियो । क्यान्सर भएको निकै समय पछि मात्र उहाँको उपचार शुरु गरिएको थियो ।

गायक आभास भन्छन्, ‘हामीले आज एउटा एकदमै ठुलो स्वरका सम्राट गुमाएका छौँ, उहाँको निधनले हामी सबै सम्पुर्ण संगीत प्रेमीहरुलाई एकदमै दुखी बनाएको छ ।’ आभास थप्छन्, ‘हामीले एउटा संगीतका ठुला गुरु तथा गायक गुमाएका छौँ जो अब कहिल्यै फकर्ने छैनन् ।’

गायक रामकृष्ण ढकाल पनि गायक राजभण्डारीको निधनले आफुलाई एकदमै मर्माहित तुल्याएको बताउँछन् । ‘उहाँ त हाम्रो गुरु नै हुनुहुन्थ्यो । उहाँको निधन नेपाली संगीतको लागि एउटा ठुलो क्षती हो ।’ उनी भन्छन्, ‘फत्तेमान दाइको मार्ग निर्देशन पछ्याएर आएकाहरुलाई एकदमै गाहृो भएको छ । हामीले एउटा परिवारको सदस्य गुमाएका छौँ । हामीले सबै कलाकारहरु मिलेर उहाँको उपचारको लागि खर्च जुटाउँदै थियो तर अचानक उहाँको निधन भएको खबरले हामीलाई एकदमै दुखि बनाएको छ ।’

गायक हेमन्त शर्मा भन्छन्, ‘गायक फत्तेमान दाजुको निधनले आज सारा कलाकार स्तब्ध छ । हामीले राष्ट्रको एउटा ठुलो गहना गुमाएका छौँ । हामीमाझ बाट आज एउटा परिवारको सदस्यको निधन भएको छ जो हाम्रो बुबाको रुपमा हुनुहुन्थ्यो ।’

यस्तै, संगीतकार कालिप्रसाद बास्कोटा भन्छन्, ‘मैले जे भोगे भन्ने कार्यक्रमका लागि फत्तेमानजी सँग काम गरुँ भन्दा उहाँले सजिलै स्वीकार्नु भएको थियो । उहाँ काम गर्दा कहिले पनि आफु बिरामी भएको महशुस नै गर्नुहुन्नथ्यो । उहाँ गीत गाउन जतिबेला पनि तम्तयार रहेर बस्नुहुन्थ्यो । आज उहाँको निधन मलाई एउटा सपना जस्तो लागि रहेछ । हामीले आज एउटा यस्तो ठुलो मान्छे गुमाएका छौ जो फेरी जन्मिने छैन । उहाँबाट हामीले अझ धेरै कुराहरु सिक्नु थियो तर त्यो अधुरै रह्यो ।’

बिंस १९९३ मार्गमा जन्मेका गायक राजभण्डारीले ४०० भन्दा बढि गीत र भजनमा स्वर तथा संगीत दिए । छिन्नलता गीत पुरस्कार, नातिकाजी सम्मान, स्वरसम्राट सम्मान, इमेज लाइफटाइ एचिभमेन्ट अवार्ड, साधना सम्मान, कान्तिपुर एफएम लाइफटाइम अवार्ड लगाएतका बिभिन्न सम्मान पाएका फत्तेमानले ‘मर्न बरु गाह्रो हुन्न …’, ‘यस्तो पनि हुदो रै’छ …’ जस्ता लोकप्रिय गीतहरु तथा ‘रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो’ जस्ता राष्ट्रिय गीत पनि चर्चामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu