हिन्दी सिरियल ‘अलादिन’ मा निरिषा



नेपाली अभिनेत्री निरिषा बस्नेतले मुम्बईलाई कर्मथलो बनाउन थालेको लामो समय भइसकेको छ । हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा मुख्य भूमिका निभाइसकेकी उनले नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, यो चलचित्रको असफलताले उनलाई निराश बनायो । तीन महिना त उनले रोएरै विताइन् । अहिले उनी मुम्बईमा छिन् र व्यस्त छिन् ।

लकडाउनको समयमा उनले हिन्दी सिरियल ‘तेनाली रामा’ मा केमियो भूमिका निभाएकी थिइन् । चिनियाँ युवतीको भूमिकामा उनको अभिनयको भारतीयसँगै नेपाली दर्शकले पनि मुक्तकण्ठले प्रशंसा गरेको थिए । अब उनको हातमा अर्को हिन्दी सिरियल परेको छ । सोनी सब टिभीबाट प्रशारण हुन लागेको सिरियल ‘अलादिन : नाम तो सुना होगा’ मा उनी अनुबन्ध भएकी छन् ।

अहिले यो सिरियलको छायांकन भइरहेको छ । यसमा आफू नेगेटिभ रोलमा रहेको निरिषाले बताएकी छन् । उनी भन्छिन्, ‘म ‘अलादिन’ को हिस्सा बन्न पाएकोमा एकदमै खुसी छु । यसमा मैले नकारात्मक चरित्र निभाएकी छु र अलादिनको जीवनमा धेरै अवरोधहरू सृजना गर्नेछु ।’ यो सिरियलमा सिद्धार्थ निगम, आशी सिंह, स्मिता बन्सललगायतको पनि अभिनय रहेको छ ।

निरिषाले राम्रो ब्यानर र स्क्रिप्टबाट प्रस्ताव आए नेपाली चलचित्रमा पनि काम गर्ने बताएकी छन् । ‘जानी नजानी’ बाट आफूले धेरै कुरा सिक्न पाएको बताउने उनी पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन् । टिभी सिरियलमा आफूलाई स्थापित गराएकी उनलाई बलिउड चलचित्रमा पनि काम गर्ने इच्छा छ । तर, यसका लागि आफूले अझै मेहनत गर्न आवश्यक रहेको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu