हलिउड चलचित्रमा नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामा



नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड चलचित्रमा डेब्यू गर्ने भएकी छन् । संघर्षका विभिन्न चरण पार गरेर मोडलिङको दुनियाँमा आफ्नो फरक पहिचान बनाएकी लामाले ६ भागमा निर्माण हुने चलचित्र ‘सेयरिङ ए राइड’ मा अभिनय गर्न लागेकी हुन् । लीना यादवले निर्देशन गर्ने चलचित्रमा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसको पनि अभिनय रहनेछ ।

डेडलाइनको रिपोर्ट अनुसार, यो एक एन्थोलजी चलचित्र हुनेछ, जसको शीर्षक ‘वुमेन्स स्टोरीज’ राखिएको छ । लर्वोलिनो इन्टरटेन्मेन्टको को-प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्ने चलचित्रमा महिलाको जिन्दगीका अलग-अलग पक्ष देखाइनेछ । चलचित्रमा कारा डेलेविन्ज, ईवा लोन्गोरिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ ।

हलिउड चलचित्रबाट अभिनय करिअर सुरु गर्न लागेकी अञ्जलीको जन्म पुरुषको रुपमा भएको थियो । नुवाकोटमा जन्मिएकी उनी अहिले महिला बनेकी छन् । तेस्रोलिंगी समूदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उनी नेपालको पहिलो मोडल हुन् । २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा उनी उत्कृष्ट २० सम्म पुगेकी थिइन् । यसमा सहभागिता जनाउने उनी नै पहिलो तेस्रोलिंगी मोडल हुन् ।

‘ल्याक्मे फेसन शो’ मा सहभागिता जनाएपछि विश्वभर नेपालको पहिलो ट्रान्सजेन्डर मोडलको रुपमा चर्चा बटुलेकी अञ्जली नेपाली चलचित्रमा समेत डेब्यू गर्ने तयारीमा थिइन् । उनी चलचित्र ‘लाउरे’ मा मुख्य भूमिकामा अनुबन्ध भएकी थिइन् । तर, यो चलचित्र निर्माणकै क्रममा रोकियो । तीन वर्ष अगाडि उनको कथामा एक डकुमेन्ट्री समेत निर्माण भएको थियो, जुन यूट्युबमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu