दोश्रो संस्करणको नाट्यश्वर अवार्ड सम्पन्न



नुवाकोट। गीत, संगीत, म्युजिक भिडियो, पत्रकारिता, सामाजिक कार्य सहित विभिन्न ४८ विधामा अवार्ड प्रदान गर्दै नाट्यश्वर म्युजिक अवार्डको दोस्रो संस्करण आइतबार सम्पन्न भएको छ ।

प्रल्हाद केसीको सभापतित्व र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यमा नुवाकोटको बिदुर स्थित ढुंगेमा सम्पन्न सो अवार्ड समारोहमा २०७५ र ०७६ मा रिलिज भएका विभिन्न गीतहरुलाई अवार्ड प्रदान गरियो । यस अघि राष्टिय नृत्य प्रतियोगिता, गायन प्रतियोगिता सहित थुप्रै कार्यक्रम आयोजना गर्दै आएको नाट्यश्वर कला केन्द्र एन्ड इभेन्ट म्यानेजमेन्टले दोश्रो नाट्यश्वर अवार्ड पनि भव्यताका साथ सम्पन्न गरेको छ ।

नाट्यश्वर म्युजिक अवार्ड समारोहमा सुन्दर पन्तले मेरो देशबाट सर्वोत्कृष्ट राष्टिय गीतको अवार्ड, गंगा प्रसाद घिमिरेले बिन्दास जिउने हो गीतबाट सर्वोत्कृष्ट काठे भाका लोक दोहोरी गायकको अवार्ड, सिता थापाले नौलो गाउँ गीतबाट सर्वोत्कृष्ट काठे भाका लोक दोहोरी गायिकाको अवार्ड चुमे । यस्तै चर्चित गायिका सरिता भारतीले यसपालीको दशैं गीतबाट वर्षको सर्वोत्कृष्ट चाडपर्व विशेष गीत गायिकाको अवार्ड जितिन् ।

यस्तै पप तर्फ चिरञ्जिबी भण्डारीले सँगै बस्दा गीतबाट सर्वोत्कृष्ट पप गीत गायकको र लक्ष्मी पुरी प्रधानले सिट्ठी बजाउँदै गीतबाट सर्वोत्कृष्ट पप गीत गायिकाको अवार्ड र दीपक शर्माले बोल्दैन फोटो गीतबाट सर्वोत्कृष्ट पप संगीतकारको अवार्ड हाँसिल गरे ।

यस्तै सर्वोत्कृष्ट गीतको अवार्ड आमा मेरीबाट प्रतिमा गुरुङले र सर्वोत्कृष्ट संगीतकारको अवार्ड आज किन गीतबाट भिम केसीले प्राप्त गरे । आँखैले हेर्यो गीतबाट नितिन गजुरेलले सर्वोत्कृष्ट आधुनिक गीत गायकको अवार्ड र हातमा गुलाव देखाएर गीतबाट मञ्जु थापाले सर्वोत्कृष्ट आधुनिक गीत गायिकाको अवार्ड प्राप्त गरे ।

कार्यक्रममा लोकदोहोरी विधाबाट मा लै…गीतबाट कृष्ण रेउले गायकको र रिमला न्यौपानेले गायिकाको अवार्ड चुमे । लोक दोहोरी मोडलको अवार्ड मोडल दिपाशा बिसी र टिका जैसीले प्राप्त गरेका छन् ।
कार्यक्रममा वरिष्ठ सङ्गीतकार राजु सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । उनलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै गीतकार डब्बु क्षत्रीलाई गीत लेखन विशिष्ट योगदान सम्मानबाट सम्मानित गरिएको थियो ।

श्रष्टालाई सम्मान गर्दै प्रमुख अतिथि नेता अर्जुन नरसिंह केसीले कलाकारहरू राष्ट्रका गहना भएकोले यस्तो अवार्डल उनीहरुलाई अझ अघि बढ्न प्रेरणा मिल्ने बताए ।

अवार्ड ‘नाट्यश्वर सबै कलाकारको शान, कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न भएको हो । ०७६ मा नै आयोजना गर्नुपर्ने कार्यक्रम विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण रोकिएर अहिले गरिएको संयोजक अधिकारीले जानकारी दिए । यसभन्दा अगाडिको कार्यक्रम काभ्रे जिल्लाको बनेपामा आयोजना गरिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu