नेपाली चलचित्रलाई लगानी जुटाउन गाह्रो छैन : अनुराग कश्यप



बलिउड निर्देशक अनुराग कश्यपले नेपालमा चलचित्रको छायांकन गर्ने इच्छा रहेको बताएका छन् । बिहीवारबाट अनलाइनको माध्यमबाट सुरु भएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको उद्घाटनपछिको पहिलो सेसनमा बोल्दै उनले स्थिति सामान्य भएपछि चलचित्र खिच्न नेपाल आउन सक्ने बताए । आफू नेपालका हिमश्रृङ्खलाबाट अत्यन्त प्रभावित रहेको पनि उनको भनाई छ ।

उनले भने, ‘म केही पटक नेपाल आएको छु । अब मलाई नेपालका हिमश्रृङ्खलामा चलचित्र खिच्ने इच्छा छ । सगरमाथा जाने मन छ । मसँग हिमालमा खिच्नुपर्ने चलचित्रको स्क्रिप्ट छ । स्थिति सामान्य भएपछि चलचित्र खिच्न नेपाल आउन सक्छु ।’ उनले नेपालले नेपालकै कथामा चलचित्र बनाउनु पर्नेमा पनि जोड दिए । नेपाली चलचित्रलाई लगानी जुटाउन गाह्रो नभएको उनको भनाई छ ।

‘एउटा राम्रो चलचित्रले चलचित्र क्षेत्रलाई विश्वमा चिनाउँछ । नेपाललाई पनि एउटा यस्तै चलचित्रको खाँचो छ । अहिले नेपाली चलचित्रलाई लगानी जुटाउन पनि गाह्रो छैन । राम्रो स्क्रिप्टमा लगानी गर्न विश्वका मानिसहरु तयार हुन्छन्,’ उनले अगाडि भने, ‘तर नेपाली चलचित्रमा मौखिक कथा पस्कन जोड दिनुपर्छ । स्थानीय कथामा चलचित्र बनायो भने त्यो विश्वको लागि नयाँ हुन्छ र त्यो विश्वले हेर्छ ।’

अनुरागले दुईवटा नेपाली चलचित्र हेरेका छन्, दीपक रौनियारको ‘सेतो सूर्य’ र मीन भामको ‘कालो पोथी’ । उनले दुवै चलचित्रमा मौलिकपन र आफ्नोपन रहेको भन्दै प्रशंसा गरे । ‘कालो पोथी’ उनले डिभिडि किनेर हेरेका रहेछन् । उनले स्वतन्त्र चलचित्रकर्मीको रुपमा दीपक र मीनको नाम पनि लिए । बलिउडमा फरक धारका चलचित्र बनाउने निर्देशकको रुपमा अनुराग परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu