‘पागल प्रेमी-२’ को फिल्मी शैलीको पोस्टर



लामो समयको अन्तरालपछि गायक तथा नायक निमा रुम्बाले नयाँ गीत लिएर आउने भएका छन् । रुम्बाले एक समयको आफ्नो हिट गीत ‘पागल प्रेमी’ को सिक्वेल ‘पागल प्रेमी-२’ मा समावेश ‘क्रेजी लभर’ गीत लिएर आउन लागेका हुन् । अमेरिकामा खिचिएको यो गीतको भिडियो केही दिनमा सार्वजनिक हुँदैछ ।

गीत सार्वजनिक गर्नुभन्दा अगाडि निर्माण टिमले पोस्टर सार्वजनिक गरेको छ । गीतको पोस्टर फिल्मी शैलीमा तयार पारिएको छ । अमेरिकालाई पृष्ठभूमिमा राखिएको पोस्टरमा गायक रुम्बा हातमा ‘गन’ बोकेर देखिएका छन् । त्यस्तै, अर्को पोस्टरमा गीतकी मोडल अंशिका शर्माको हातमा पनि ‘गन’ देख्न सकिन्छ । पोस्टर हेर्दा यो कुनै चलचित्रको दृश्यभन्दा कम देखिन्न ।

गीतमा निमाकै शब्द, संगीत र स्वर रहेको छ । निमाले ‘पागल प्रेमी’ २०५० सालमा ल्याएका थिए । ‘क्रेजी लभर’ बोलको गीत निमाले केही वर्षअघि नै रेकर्ड गराएका थिए । उक्त गीतका लागि निमा रुम्बा र गायक स्व. सुनील बर्देवाले २०७० मा एरेन्ज सुरु गरेका थिए । सुनीलको असामयिक निधनसँगै ‘पागल प्रेमी २’ को ‘क्रेजी लभर’ निमा र सुनीलको सहकार्य रहेको अन्तिम गीत बन्न पुगेको छ ।

म्यूजिक भिडियोको निर्देशन आशिष श्रेष्ठले गरेका छन् । म्यूजिक भिडियोमा पटकथा र सम्पादन पनि उनकै रहेको छ । गीतको म्यूजिक भिडियो युवा फिल्म्स् र आहा प्रोडक्सनले तयार पारेको हो । गायक रुम्बाले म्यूजिक भिडियो पहिलो पटक हलिउडको स्तरमा तयार भएकोमा खुसी व्यक्त गरेका छन् ।

म्यूजिक भिडियोमा निमा स्वयंले मुख्य भूमिका निर्वाह गरेका छन् भने मिस्टर यूएसए तथा दुईपटक मेन्स फिजिक गोल्ड मेडल जितेका तथा प्रो कार्ड विजेता उत्सव सिंहले पनि अभिनय गरेका छन् । त्यस्तै, पोस्टरमा समेत फिचर अंशिका शर्मा मिस युनिभर्स नेपाल २०२१ की विजेता हुन् । म्यूजिक भिडियोको सह–निर्माता आहा प्रोडक्सनका उज्ज्वल सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu