काठमाडौँ।
काठमाडौँ महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) भारतीय चलचित्र ‘आदिपुरुष’लाई लिएर बोल्ड कदम चालेका छन् । शुक्रबार विश्वव्यापी रिलिज हुन लागेको सो चलचित्रमा सितामाता (जानकी)लाई भारतकी छोरीको रुपमा प्रस्तुत गरिएको तथ्य बाहिर आएपछि बालेनले अनौठो कदम चालेका छन् ।
उनले ‘आदिपुरुष’मा रहेको सो संवाद नेपालमा मात्र नभई भारतमा पनि हटाउनु पर्ने अन्यथा काठमाडौँ महानगरपालिका भित्र पर्ने कुनै पनि हलमा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेका छन्, “दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौँ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस् ।”

उनको यो कदमलाई लिएर प्रायः सबैले बालेनको प्रशंसा गरेका छन् । प्रायः टिप्पणीकर्ताहरुले उनलाई मुटु दह्रो भएको जनताको वास्तविक नेता भएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको रुपमा हेर्न चाहेको बताएका छन् ।
नेपाल रिलिजको लागि सेन्सर बोर्डले भने संवाद हटाउन लगाएर जाँचपास गरिसकेको छ ।






