
काठमाडौँ।
चलचित्र ‘प्रसाद २’का निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी नेपाल चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ । गत शुक्रवार नै पक्राउ पुर्जी जारी भई हाल प्रहरीको फरार सूचीमा रहेका थापालाई बिना कारण र बिना प्रमाण पुर्जी जारी भएको समाजले जनाएको छ ।
समाजले बिहीबार एक वक्तव्य जारी गर्दै पारिश्रमिक लिएर सो चलचित्रमा काम गरेका निर्देशकलाई चलचित्र बिक्री वितरण गर्ने कुनै पनि अधिकार नहुने भएकाले बिना कारण पक्राउ पुर्जी जारी भएको बताउँदै आपत्ति जनाएको हो ।
सो चलचित्रको विवादमा सम्पादक मिलन श्रेष्ठलाई पनि पक्राउ पुर्जी जारी भएको छ । सोही विवादमामा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल भने तीन दिन हिरासत बसी आइतबार नै हिरासतमुक्त भइसकेका छन् ।
सो चलचित्रका निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरूको अनुमति बिना नै ‘प्रसाद २’लाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएका थिए ।



