पैसा जोगाउन दिनभर केही खाँदैनथे अक्षय, एउटै कोठामा परिवारका २४ जना बस्थे



बलिउड अभिनेता अक्षय कुमारले आफ्नो परिवारको सङ्घर्षको बारेमा कुरा गरेका छन् । उनले कसरी दिल्लीको चाँदनी चोकमा एउटा कोठामा पूरै परिवार बसेका थिए भन्ने बारेमा बताए । उनले सुरुवातमा आफ्नो सपना अभिनेता बन्ने नभएको बताएका छन् । उनको चाहना मार्सल आर्ट शिक्षक बन्ने थियो ।

एएनआई न्युज एजेन्सीलाई दिएको अन्तर्वार्तामा अक्षयले ७ कक्षामा फेल भएको बताए । जसका कारण उनले फेरि त्यही कक्षामा पढ्नुपर्ने भयो । यो देखेर आक्रोशित बुबा उनलाई कुटपिट गर्न दौडे । त्यो बेला रिसाएको बुबाले अक्षयलाई के बन्न चाहन्छौ भनी सोध्दा अक्षयले केही नसोची अभिनेता बन्न चाहेको जवाफ दिए । तर, त्यति बेला उनलाई अभिनेता बन्ने सोच थिएन । उनको सपना मार्सल आर्ट शिक्षक बन्ने थियो ।

सो अन्तर्वार्तामा अक्षयले दिल्लीमा आफ्नो परिवारमा २४ जना रहेको र सम्पूर्ण परिवार एउटै कोठामा बसेको बताए । अक्षयले आफूलाई अभिनेता बन्न नचाहेको तर चलचित्र हेर्न निकै मन लाग्ने गरेको बताए । मुम्बईमा उनी बस्ने ठाउँ नजिकै सिनेमा हल थियो । उनी हरेक शनिवार बहिनीसँग चलचित्र हेर्न जान्थे । तर, यसका लागि उनले दिनभर खाना खाँदैनथे । खानाबाट बचेको पैसाले दुवैले टिकट काटेर चलचित्र हेर्ने गर्थे । उनले त्यति बेलाका लगभग सबै चलचित्र हेरिसकेका थिए ।

अक्षय कुमार मार्सल आर्ट सिक्न चाहन्थे, तर मध्यम वर्गीय परिवारका लागि यो खर्च गर्न गाह्रो थियो । त्यति बेला थाइल्यान्ड भारत नजिकैको सबैभन्दा सस्तो देश थियो, त्यसैले उनका बुबाले अक्षयलाई मार्सल आर्ट सिक्न बैंकक पठाए । त्यति बेला भारतबाट बैंककको टिकट २२ हजार रुपैयाँ थियो तर उनको परिवारसँग त्यति पैसा थिएन । यस्तो अवस्थामा बुबाले १८ हजार रुपैयाँ ऋण लिएर अक्षयका लागि बैंकक जाने टिकट किनेका थिए ।

अक्षयले सन् १९९१ मा आएको चलचित्र ‘सौगन्ध’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए भने १९९२ मा आएको चलचित्र खिलाडीबाट चर्चा कमाए । अक्षय वेटरको काम गर्न मुम्बई गएका थिए तर भाग्यवश उनलाई त्यहाँ चलचित्रमा काम मिल्यो । चलचित्रमा आउनुअघि उनले केही समय मोडलिङ पनि गरेका थिए ।

‘सौगन्ध’बाट डेब्यु गरेपछि अक्षयले त्यही वर्ष अर्को चलचित्र ‘डान्सर’मा काम गरे । अर्को वर्ष १९९२ मा उनका तीन चलचित्र ‘खिलाडी’, ‘मिस्टर बन्ड’ र ‘दीदार’ रिलिज भए । यसबाहेक उनले सन् १९९३ मा पाँच र १९९४ मा एघार चलचित्रमा काम गरे । त्यस बेलादेखि आजसम्म अक्षय कुमारले हरेक वर्ष कम्तीमा तीन चलचित्र रिलिज गर्ने गरेका छन् । आफ्नो ३२ वर्षको करियरमा अक्षय कुमारले १३२ चलचित्रमा अभिनय गरेका छन् ।

  • दैनिक भाष्करबाट
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu