भारतको पराजयमा स्टेडियममा नै रोइन् अनुष्का, शाहरुख र अमिताभले दिए हौसला



आइतबार भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको क्रिकेट विश्वकपको फाइनलमा टिम इन्डियाले हार बेहोरेपछि बलिउड कलाकारहरू स्तब्ध भएका छन् । अस्ट्रेलियाले जितेर विश्वकप ट्रफी उचालेको समय केही खेलाडीका आँखा रसाए र कोही रोए । स्टेडियममा उपस्थित कलाकारहरू पनि भावुक देखिए ।

फाइनलमा हारेपछि अभिनेत्री अनुष्का शर्मा स्टेडियममा भावुक देखिएकी थिइन्, जसको भिडियो भाइरल भइरहेको छ । उनले आफ्ना पति विराट कोहलीलाई अँगालो हालेर सान्त्वना दिएको देखियो । खेल सकिएसँगै अनुष्का शर्मा निकै उदास देखिइन् । कोहली स्टेडियमबाट फर्किएपछि पनि अनुष्काले लामो समयसम्म आफूलाई नियन्त्रण गर्ने प्रयास गरिरहेकी थिइन् । केही समयपछि अनुष्का विराटसँग पुगिन् र उनलाई केही सेकेन्डसम्म अँगालो हालिन् । अनुष्काले विराटको काँधमा चुम्बन गरिन् र त्यसपछि दुवै सँगै बसे ।

भारतको पराजयपछि शाहरुख खान, काजोल, अमिताभ बच्चनलगायत धेरै सेलिब्रेटीले हौसला प्रदान गरे । अभिनेता शाहरुख खानले एक्स प्लेटफर्म (पहिलेको ट्विटर) मा लेखेका छन्, “जसरी टिम इन्डियाले पूरै टूर्नामेन्ट खेलेको छ त्यो सम्मानको कुरा हो । उनीहरूले दृढ सङ्कल्प देखाएका छन् । यो एक खेल हो र त्यहाँ सधैँ एक वा दुई दिन खराब हुन्छन् । दुर्भाग्यवश, त्यो खराब दिन आज थियो, तर हामी सबैलाई हाम्रो खेलकुद विरासतमा गर्व महसुस गराउनु भएकोमा टिम इन्डियालाई धेरै धेरै धन्यवाद ।”

अभिनेता अमिताभ बच्चनले लेखेका छन्, “टिम इन्डिया, हिजो रातीको नतिजा कुनै पनि हिसाबले तिम्रो क्षमता र प्रतिभाको प्रतिबिम्ब होइन । तिमी प्रति गर्व छ । हामीले अझ राम्रा कुराहरू पर्खिरहेका छौँ ।”

अभिनेत्री काजोलले आफ्नो ब्लकबस्टर फिल्म बाजीगरको आइकोनिक संवाद लेखेर टोलीलाई हौसला प्रदान गरेकी छन् । उनले लेखेकी छन्, “हारेर पनि जित्नेलाई बाजीगर भनिन्छ । धेरै राम्रो प्रदर्शन टिम इन्डिया । अस्ट्रेलियालाई विश्वकप जितेकोमा बधाई ।”

आइतबारको फाईनल खेलमा शाहरुख खान सपरिवार स्टेडियम पुगेका थिए भने अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह पनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu