कार्तिक आर्यनः पाँच वर्षमा ४० गुणा पारिश्रमिक वृद्धि



आज बलिउड अभिनेता कार्तिक आर्यनको ३३ औँ जन्मदिन हो । कार्तिक ती बलिउड स्टार मध्ये एक हुन् जसको पारिवारिक पृष्ठभूमि चलचित्रमा थिएन तर उनले उद्योगमा आफ्नो गर्विलो स्थान बनाएका छन् । सन् २०१८ देखि २०२३ सम्मको पछिल्लो ५ वर्षमा कार्तिकको करियरको वृद्धि यस तथ्यबाट बुझ्न सकिन्छ कि २०१८ मा उनले ‘सोनु के टिटु की स्वीटी’का लागि १ करोड रुपैयाँ पाएका थिए र आजको मितिमा उनले एउटा चलचित्रको करिब ४० करोड पारिश्रमिक लिइरहेका छन् ।

कार्तिक भारतको मध्य प्रदेशको ग्वालियरका हुन् । उनका आमाबाबुले उनलाई डाक्टर बनोस् भन्ने चाहन्थे तर उनको ध्यान अभिनयमा थियो । राम्रो परिवारबाट आए पनि कार्तिकले बलिउडमा निकै सङ्घर्ष गर्नुपर्‍यो । कार्तिकले बताएअनुसार सङ्घर्षका दिनहरूमा उनले मुम्बईमा बाँच्नका लागि हरेक दिन १२ जनाका लागि खाना पकाउँथे ।

आज कार्तिक हरेक निर्माता र निर्देशकको रोजाइ हुन् । उनको जन्मदिनको अवसरमा उनीबारे केही रोचक कुराहरू जानौँ:
कलेज पढ्दा चलचित्रका लागि अडिसन दिन्थे:
कार्तिकमा बाल्यकालदेखि नै अभिनेता बन्ने रहर थियो । यही कारणले कलेज पढ्दा बिचमा कक्षा छोडेर चलचित्रको ‘अडिसन’ दिन जान्थे । कार्तिकले कलेज पढ्दा नै ‘मोडलिङ करियर’ सुरु गरेका थिए । कार्तिक जहाँ-जहाँ ‘अडिसन’मा गए, ‘रिजेक्ट’ भए । ‘अडिसन’मा लगातार असफल भएपछि उनले छोटो समय अभिनय पढे ।

पैसाको अभाव हुँदा १२ जनालाई खाना पकाउने गर्थे:
मुम्बईमा रहँदा कार्तिकले आर्थिक सङ्कटको सामना गर्न थाले । यस्तो अवस्थामा उनी १२ जना अन्य सङ्घर्षरत कलाकारसँग बसेका थिए । मुम्बईमा बस्नका लागि कार्तिकले ती १२ जनाका लागि खाना पकाउने गर्थे । यसबाट उनले केही पैसा कमाउने गर्थे ।

यसरी मिल्यो बलिउडमा ब्रेक:
जब कार्तिक कलेजको तेस्रो वर्षमा थिए, उनले पहिलो चलचित्रमा ब्रेक पाए । कार्तिकले चलचित्र ‘प्यार का पञ्चनामा’बाट आफ्नो करियर सुरु गरेका थिए । यो चलचित्र ‘साइन’ गरेपछि मात्रै उनले आफ्नो पहिलो चलचित्रको बारेमा अभिभावकलाई जानकारी गराएका थिए ।

यो चलचित्रमा उनले कसरी काम पाए भन्ने पनि रोचक कथा छ । वास्तवमा करियरको सुरुवाती दिनमा उनले फेसबुकमा आफ्नो प्रोफाइल बनाएका थिए । त्यहीँबाट उनलाई चलचित्रका लागि नयाँ कलाकारको खोजी भइरहेको थाहा भयो । यो अवसर खेर नफाली उनी ‘अडिसन’मा गए । यसरी उनी सो चलचित्रको प्रमुख हिस्सा बने। कार्तिकले साढे दुई वर्ष सङ्घर्ष गरेपछि यो ब्रेक पाएका थिए ।

कार्तिकले पहिलो चलचित्रका लागि १.२५ लाख पारिश्रमिक पाएका थिए । १० करोडको बजेटमा बनेको यो चलचित्रले बक्स अफिसमा १७ करोड कमाएको थियो ।

भारतकै सबैभन्दा लामो संवाद बोल्ने अभिनेता:
कार्तिकले ‘प्यार का पञ्चनामा’ चलचित्रमा ४ मिनेटको मोनोलोग बोलेका थिए । उनको यो संवाद यति हिट भयो कि कार्तिक यही चलचित्रबाट स्टार बने । यो चलचित्रको २ वर्षपछि उनले ‘आकाशवाणी’ र ‘काँची’ चलचित्रमा काम गरे तर दुवैले ठुलो पर्दामा खास केही गर्न सकेनन् ।

सन् २०१५ मा कार्तिकको चलचित्र ‘प्यार का पञ्चनामा २’ रिलिज भएको थियो । यस चलचित्रमा कार्तिकको ७ मिनेटको मोनोलोग थियो । यस पटक कार्तिकले आफ्नै कीर्तिमान तोडे । कार्तिक भारतमा ७ मिनेटको संवाद बोल्ने पहिलो अभिनेता थिए । उनको यो संवाद पनि निकै हिट भयो र सामाजिक सञ्जालमा भाइरल भयो । मात्र २२ करोडको बजेटमा बनेको यो चलचित्रले ८८ करोडभन्दा बढी कमाएको थियो । यसपछि २०१८ मा रिलिज भएको चलचित्र ‘सोनु के टिटु की स्वीटी’ ले कार्तिक कमिक मुख्य भूमिकामा मास्टर भएको प्रमाणित गर्‍यो ।

१२ वर्षको करियरमा १६ चलचित्र:
कार्तिकको करियर ग्राफलाई हेर्दा उनले अहिलेसम्म १६ वटा चलचित्रमा काम गरिसकेका छन् । जसमा केही चलचित्रहरू ओटीटीमा रिलिज भएका थिए । १३ वटा चलचित्र हलमा आएका थिए । यी १३ चलचित्रमध्ये ८ वटा हिट बने ।

  • दैनिक भास्करबाट
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu