‘एनिमल’का भिलियन बबी देओलको कठिन सङ्घर्ष, रक्सीको लतबाट सलमानले निकाले



बलिउडको चलचित्र ‘एनिमल’ भोली शुक्रवार विश्वभर रिलिज हुँदैछ । यसमा बबी देओल खलनायकको भूमिकामा देखिनेछन् । मिडिया रिपोर्टमा भनिएको छ, चलचित्रमा बबीको क्यारेक्टर निकै अनौठो छ । ‘एनिमल’ मा उनको एउटा संवाद पनि सुनिने छैन, तर उनी सरप्राइज प्याकेजभन्दा कम भने हुने छैनन् ।

त्यसो त, बबीको करियरको हिसाबले ‘एनिमल’ निकै महत्त्वपूर्ण चलचित्र हो । बलिउडमा आएको २८ वर्ष भइसक्यो तर आजसम्म उनी ब्लकबस्टर चलचित्रको आकांक्षामै छन् । उनका ४० चलचित्रमध्ये २८ वटा फ्लप साबित भएका छन् भने ६ वटा मात्रै हिट भएका छन् । आफ्नो करियर खराब चलेको बेला उनले सलमान खानसँग मद्दत मागेका थिए ।

‘एनिमल’ मार्फत बबीको करियरमा ब्लकबस्टर चलचित्रको खडेरीको अन्त्य हुने र उनले अभूतपूर्व सफलता पाउने अपेक्षा गरिएको छ ।

बबी कसरी चलचित्रमा आए र बलिउडमा उनको यात्रा कत्तिको कठिन रह्यो भन्ने कुरा जानौँ ।

बबीले चलचित्र ‘धरम-वीर’ मा मात्र ३० सेकेन्डको भूमिका निभाएका थिए । छोराको कामबाट खुसी हुँदै पिता धर्मेन्द्रले उनलाई १० हजार रुपैयाँ दिएका थिए । उनले ८ वर्षको उमेरमा आफ्नो अभिनय करियर बाल कलाकारको रूपमा चलचित्र यस चलचित्रबाट सुरु गरेका थिए । सन् १९७७ मा रिलिज भएको यो चलचित्रमा बबीका पिता धर्मेन्द्रले मुख्य भूमिका निभाएका थिए ।

‘धरम-वीर’ मा बबी पिताका साथ

सन् १९९५ मा ‘बरसात’बाट डेब्युः
बबीले सन् १९९५ मा रिलिज भएको चलचित्र ‘बरसात’बाट नायकको रूपमा डेब्यु गरेका थिए । अभिनेत्री ट्विंकल खन्नाले पनि यही चलचित्रबाट आफ्नो करियर सुरु गरेकी थिइन् । एक अन्तर्वार्तामा बबीले यसलाई बनाउन पाँच वर्ष लागेको बताएका थिए । किनभने सुरुमा शेखर कपुरले निर्देशन गर्ने भएका थिए तर २७ दिनको सुटिङपछि उनले चलचित्र ‘बरसात’ छाडेका थिए ।

त्यसपछि स्क्रिप्टमा केही परिवर्तन गर्न भनेका कारण निर्माणमा ढिलाइ भएको थियो । जब चलचित्र ‘बरसात’को निर्माण सुरु भयो बबी २२ वर्षका थिए भने रिलिज हुँदा २६ वर्षका थिए । यो चलचित्र सुपर हिट भयो । आफ्नो पहिलो चलचित्रमा बादलको भूमिका निर्वाह गर्दै, बबीले भारतभर पहिचान बनाए र फिल्म फेयरमा सर्वश्रेष्ठ डेब्यू अवार्ड पनि पाए ।

चलचित्र ‘बरसात’को एक दृश्यमा बबी

जब ‘बरसात’ले ‘दिलवाले दुल्हनिया ले जायेंगे’को रेकर्ड तोड्यो:
‘बरसात’ १० करोडमा बनेको थियो । यसको कुल कमाई १९.५६ करोड रुपैयाँ थियो । यो फिल्मले सन् १९९५ मा शाहरुख खानको चलचित्र ‘दिलवाले दुल्हनिया ले जायेंगे’को ओपनिङ रेकर्ड तोडेको थियो । ‘बरसात’को ओपनिङ डे कलेक्सन ६८ लाख र वीकेन्ड कलेक्सन १.९६ करोड थियो । उही समयमा, डीडीएलजेले पहिलो दिन ५५ लाख र पहिलो सप्ताहन्तमा १.५६ करोडको व्यापार गरेको थियो ।

३ चलचित्र हिट दिएपछि लगातार असफल:
चलचित्र ‘बरसात’ पछि बबीले आफ्नो करियरमा ‘गुप्त’ (१९९७), ‘सोल्जर’ (१९९८) र ‘बादल’ (२०००) जस्ता ३ हिट चलचित्र दिए । यसका बाबजुद बबीले खास चलचित्र पाउन सकेनन् । उनले ‘किस्मत’, ‘बरदश्त’, ‘अब तुम्हारे हवाले वतन साथियों’, ‘झूम बराबर झूम’, ‘नन्हे जैसलमेर’, ‘पोस्टर ब्वाईज’ जस्ता केही चलचित्र गरे तर ती सबै फ्लप भए । उनले साना साना भूमिका खेल्न थाले । सन् २०११ मा उनले चलचित्र ‘यमला पगला दिवाना’ मा काम गरे तर यो मल्टिस्टारर फिल्मबाट बबीको करियरलाई खासै फाइदा भएन ।

काम नपाएपछि रक्सीको लत:
एक समय यस्तो आयो जब बबीलाई राम्रो चलचित्रको अफर आउन छाड्यो । बुवा धर्मेन्द्र र भाइ सन्नी देओल चलचित्र उद्योगमा निकै चर्चित थिए । बबीलाई भने चलचित्रमा आफ्नो पहिचानलाई लगातार राख्न सकस भयो । जसका कारण उनी चिन्तित हुन थाले र मादक पदार्थ सेवन गर्न थाले ।

बबीले एक पुरानो अन्तर्वार्तामा भनेका थिए, “मैले यति धेरै रक्सी पिउन थालेँ कि मलाई आफैँमा दुःख लाग्न थाल्यो । मानिसहरू मसँग काम गर्न चाहँदैनन् भन्ने कुरामा ममा के कमी छ भनी सोच्थेँ । रक्सीको सहारा लिएर सबैबाट टाढा भएँ ।”

नाइट क्लबमा डिजेः
सन् २०१४-२०१६ को आसपास, जब बबीसँग कुनै काम थिएन, उनी उच्च प्रोफाइल भएको नाइट क्लब र पबमा डिजेको काम गरे । बबीले करिब दुई वर्ष यो काम गरे । एक पटक बबीले दिल्लीको एक क्लबमा डिजे कार्यक्रम राखेका थिए जसका लागि सबै टिकट बिक्री भइसकेको थियो तर पछि यो कार्यक्रममा निकै विवाद भएको थियो । सो डिजेमा बबीले आफ्नो चलचित्र ‘गुप्ता’का गीतहरू बजाउन थाले । एउटै चलचित्रका गीतहरू बारम्बार सुनेपछि मानिसहरू बोर हुन थालेका थिए । त्यसपछि ग्राहकहरूले हल्लीखल्ली गरे । यति मात्र होइन, उनीहरूले आयोजकसँग टिकटको पैसा फिर्ता पनि माग्न थाले । कोलाहल बढ्नुअघि बबी देओल कार्यक्रम छाडेर गएका थिए । यो विवादपछि बबीले डिजेको काम छाडे ।

उनले व्यापारमा पनि हात हालेका थिए । सन् २००६ मा उनले मुम्बईमा ‘समप्लेस अर्थ’ नामक रेस्टुरेन्ट खोलेका थिए । डिजेपछि उनले यसैमा ध्यान दिन थाले र मुम्बईमा अर्को रेस्टुरेन्ट पनि खोले ।

बबीले धेरै प्रयास गरे, तर अभिनय र फिल्मबाट पाएको खुसी अरू केहीमा पाउन सकेनन् ।

सन्तानको खातिर कमब्याकः
हफिङ्टन पोस्टलाई दिएको एक अन्तर्वार्तामा बबीले आफ्नो खराब समयको बारेमा भनेका थिए, “मैले नराम्रो समयमा मेरा बच्चाहरूको अनुहार हेरेर सोचेँ कि उनीहरूले मेरो बारेमा के सोच्छन् । आमा र श्रीमतीको आँखामा पनि त्यही देखेँ । किन आफूलाई मार्दै छु भन्ने थाहा पाएपछि आफैलाई दोष दिन थालेँ । किन म आफैबाट टाढा जान खोज्दै छु ? यदि म केही गर्न चाहन्छु भने त्यसका लागि कडा मेहनत गर्नुपर्छ भन्ने महसुस गरेँ र त्यसपछि मैले आफैँमा काम गरेँ र पुनरागमन गर्ने निर्णय गरेँ ।”

सलमान खानले सहयोगको हात बढाए:
सुपरस्टार सलमान खानले बबी देओललाई आफ्नो करियरमा फर्काउन मद्दत गरे । यो कुरा बबी आफैले एक अन्तर्वार्तामा बताएका छन् । बबीले सीसीएल (सेलिब्रेटी क्रिकेट लिग) को समयमा सलमान खानसँग भेटेका थिए । त्यहाँ सलमानले बबीलाई भने, ‘तिमीले दाह्री किन राख्यौ ? कठिन समय सबैको जीवनमा आउँछ तर हार स्वीकार गरेर हार मान्नु हुँदैन ।”

सलमानले थपे, “जब मेरो करियर राम्रो चलिरहेको थिएन, म तिम्रो दाइ सन्नी देओलको साथ लिएको थिएँ । यसमा बबीले भने, त्यसो भए अङ्कल, मलाई तपाईँको पिठमा चढ्न दिनुहोस् । मलाई केही काम दिनुहोस् ।”

त्यसपछि एक दिन सलमान खानले बबीलाई फोन गरे । उनले बबीलाई सोधे, “तिमी आफ्नो शर्ट फुकाल्ने ?” जवाफ आयो, “कामको लागि जे पनि गर्छु ।” यसरी उनले ‘रेस ३’ मा काम गर्ने मौका पाए ।

सलमानले बबीलाई फिटनेस ट्रेनिङमा धेरै मद्दत गरे र उनलाई प्रोत्साहन दिए । २०१८ मा ‘रेस ३’ ले सोचे अनुसार प्रदर्शन गर्न सकेन र फ्लप साबित भयो तर बबीलाई भने फाइदा भयो । उनका लागि बलिउडको ढोका फेरि खुल्यो ।

सेलिब्रेटी क्रिकेट लिग २०१६ मा बबी र सलमान

ओटीटीमा सफल:
‘रेस ३’ पछि बबी ‘यमला पगला दीवाना फिर से’ र ‘हाउसफुल ४’ मा देखिएका थिए । कमब्याकमा लगातार तीन फ्लप चलचित्र दिएपछि, बबी देओल ओटीटी प्लेटफर्मतर्फ मोडिए । उनी सन् २०२० को नेटफ्लिक्स चलचित्र ‘क्लास अफ ८३’ र एमएक्स प्लेयरको सिरिज ‘आश्रम’मा देखिए । ‘आश्रम’मा बाबा निरालाको भूमिका निर्वाह गरेका बबीले दर्शकको निकै तारिफ पाए । यसपछि सन् २०२१ मा ‘लभ होस्टल’ र त्यसपछि ‘आश्रम-२’, ‘आश्रम-३’ वेब सिरिजबाट बबीको करियर पुनः ट्र्याकमा आउन थाल्यो ।

२८ वर्ष, ४० चलचित्र र ६ हिट:
बबीले आफ्नो २८ वर्ष लामो करियरमा करिब ४० वटा चलचित्र गरेका छन् तर यो लामो करियरमा उनका ६ चलचित्र मात्रै हिट भएका छन् । यी हुन्- बरसात, गुप्त, सैनिक, बादल, यमला पगला दिवाना र हाउसफुल ४ । उनको हातमा अहिलेसम्म कुनै पनि ब्लकबस्टर चलचित्र आएको छैन ।

पहिलो ब्लकबस्टर हुन सक्छ ‘एनिमल’:
‘एनिमल’मा बबी खतरनाक भिलियन भूमिकामा देखिनेछन् । मिडिया रिपोर्टका अनुसार चलचित्रमा उनको कुनै संवाद छैन तर पनि उनले आफ्नो अभिनयले सबैलाई प्रभावित पार्न सक्नेछन् । ट्रेलरमा पनि बबीको उग्र लुकलाई निकै मन पराइएको छ ।

‘एनिमल’ को एक दृश्यमा रणवीर र बबी

अनिल कपूरले ‘एनिमल’मा बबीको कास्टिङलाई मास्टर स्ट्रोक भनेका छन् र फिल्मलाई जीवन दिने बताएका छन् । बबीले चलचित्रमा आफ्नो भूमिकाका लागि आफ्नो फिजिकमा निकै मेहनत गरेका छन् । चार महिनादेखि बबीले कडा आहार र व्यायाम गरी उत्कृष्ट शरीर बनाएका छन् ।

बबीले एक अन्तर्वार्तामा खुलासा गरेका थिए कि करियरको खराब चरणमा हुँदा करिब चार वर्षअघि उनलाई ‘एनिमल’ अफर गरिएको थियो । निर्देशक सन्दीप वांगा रेड्डीलाई सेलिब्रेटी क्रिकेट लिगको दौरान खिचिएको बबीको तस्बिर देखाइएको थियो जसमा उनको दाह्री धेरै बढेको थियो र उनको लुक पूर्ण रूपमा परिवर्तन भएको थियो ।

सन्दीपले तस्बिरमा बबीको स्टाइल मन पराए र उनलाई खलनायकको भूमिकामा कास्ट गरे । यो कथा सुनाउँदै बबीले भनेका थिए, ‘कम्तीमा मेरो बेरोजगारीका दिनहरू उपयोगी सिद्ध भए र मैले ‘एनिमल’ पाएँ ।”

‘एनिमल’ मा बबीका अलावा रणवीर कपूर, रश्मिका मन्दन्ना, अनिल कपूर पनि देखिनेछन् । यो चलचित्रले सेन्सर बोर्डबाट ‘ए’ सर्टिफिकेट पाएको छ ।

  • दैनिक भास्करबाट
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu