३८ वर्षकी भइन् दीपिका पादुकोणः बालापनको सपना, आजकी ब्रान्ड एम्बेसडर



बलिउडकी अहिलेकी चर्चित अभिनेत्रीमध्येकी एक दीपिका पादुकोण आज ३८ वर्षकी भइन् । बाल्यकालमा लिवाइसको जिन्स किन्ने सपना देखेकी दीपिका आज सोही कम्पनीको ब्रान्ड एम्बेसडर छिन् ।

१६ वर्षको अभिनय करियरमा ३९ वटा चलचित्रमा अभिनय गरेर ५२ ठुला अवार्ड जितिसकेकी दीपिका हरेक नयाँ चलचित्रमा विवादमा फसेकी छिन् । ‘गोलियों की रासलीला: राम-लीला’को शीर्षकको विवाद होस्, ‘पद्मावत’मा नाक काट्नेलाई इनाम दिने विवाद होस् वा पठानसँग सम्बन्धित केसरन बिकिनीको विवाद होस्, उनी हरदम चर्चामा रहिन् । ठुला विवादका बाबजुद दीपिकाका यी तीन वटै चलचित्र ब्लकबस्टर साबित भए । तर, सन् २०१९ मा जेएनयू भ्रमणपछि उनको चलचित्र ‘छपाक’मा भने त्यसको प्रत्यक्ष प्रभाव परेको थियो र चलचित्र बक्स अफिसमा असफल भयो ।

धेरै उतारचढावको साथ, दीपिकाले उद्योगमा १६ सफल वर्ष पूरा गरेकी छन् । सन् २०२३ मा दुई ब्लकबस्टर चलचित्र ‘जवान’ र ‘पठान’बाट करिब २२०० करोडको बक्स अफिस कलेक्सन गर्ने दीपिका एक्ली अभिनेत्री थिइन् । यससँगै सन् २०२३ मा सबैभन्दा धेरै विवादमा पर्ने अभिनेत्री पनि हुन् दीपिका । चाहे त्यो उनको केसरन बिकिनी होस्, डिभोर्सको हल्ला होस् वा कफी विथ करणमा दिएको उनको बयान । यी सबै विवादका बाबजुद पनि दीपिका विगत १० वर्षदेखि शीर्ष अभिनेत्रीको सूचीमा छिन् ।

दीपिका पादुकोणको जन्म ५ जनवरी १९८६ मा डेनमार्कको कोपेनहेगनमा भएको थियो । उनका बुबा प्रकाश पादुकोण भारतका प्रसिद्ध ब्याडमिन्टन खेलाडी हुन् भने आमा उज्ज्वला ट्राभल एजेन्ट हुन् । दीपिकाको कान्छी बहिनी अनिशा पनि छिन् । दीपिका भर्खर १ वर्षकी थिइन् जब उनको परिवार डेनमार्कबाट भारत बसाइँ सरेको थियो ।

बेंगलुरुको सोफिया हाईस्कूलमा पढ्दा दीपिका निकै लजालु स्वभावकी थिइन् । कालो रङ्ग र नाजुक शरीरकी दीपिकामा आत्मविश्वासको यति कमी थिइन् कि उनी मानिससँग कुरा गर्न पनि हिचकिचाउँथिन् । यही कारणले गर्दा उनको बाल्यकालमा धेरै साथी भएनन् ।

दीपिका पादुकोण बाल्यकालदेखि नै हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोको ठुलो फ्यान थिइन् । उनको कोठामा लियोनार्डोको तस्बिर पनि थियो, जसलाई उनी हरेक दिन सुत्नुअघि चुम्बन गर्थिन् ।

दीपिका पादुकोणका बुबा प्रकाश पादुकोण अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी थिए भने उनका हजुरबुवा रमेश पादुकोण मैसूर ब्याडमिन्टन सङ्घका सचिव थिए । प्रकाश जहिले पनि आफ्नी जेठी छोरी दीपिकाले उनको नेतृत्वलाई पछ्याएर ब्याडमिन्टनमा करियर बनाउन चाहन्थे । सधैँ एक्लो र मौन रहने दीपिकालाई ब्याडमिन्टनमा कुनै रुचि थिएन तर बुबाले दबाब दिएपछि उनी ब्याडमिन्टनको अभ्यास गर्न बाध्य भइन् । उनी हरेक बिहान ५ बजे उठेर बुबासँग अभ्यास गर्थिन् ।

बुवाको सल्लाहमा मात्रै मन लगाएर ब्याडमिन्टन खेल्दा दीपिका थकित भइन् । एक दिन दीपिकाले हिम्मत जुटाएर आफ्नो भावना बुबालाई सुनाइन् । सौभाग्यवश पिता राजी भए र दीपिकाले १० कक्षा पढ्दा पढ्दै ब्याडमिन्टन छोडिन् ।

दीपिका १० कक्षापछि मात्र मोडलिङको दुनियाँमा प्रवेश गरिन् । उनी कोरियोग्राफर तथा फेसन स्टाइलिस्ट प्रसाद विडापाको लागि मोडलिङ गर्थिन् । स्कुलको पढाइ पूरा गर्ने बित्तिकै दीपिकाले समाजशास्त्रमा डिग्री लिन इन्दिरा गान्धी राष्ट्रिय विश्वविद्यालयमा भर्ना भइन् ।

सबै कुरा राम्ररी चलिरहेको थियो तर त्यसपछि दीपिकालाई धेरै मोडलिङ प्रोजेक्टहरू आउन थाले, जसका कारण उनलाई पढाइ र मोडलिङमा सन्तुलन मिलाउन गाह्रो भयो । यस्तो अवस्थामा उनले आफ्नो पढाइ अधुरो छोडेर मोडलिङमा ध्यान केन्द्रित गरिन् ।

दीपिका पादुकोणले एक अन्तर्वार्तामा आफ्नो १६ औँ जन्मदिनमा आफ्नो पहिलो लिवाइसको जिन्स किनेर निकै खुसी भएको बताएकी थिइन् । उनका बुबाले उनलाई स्कुलबाट उठाए र सिधै बेंगलुरुको ब्रिगेड रोडमा रहेको पसलमा लगे । दीपिकाले लिवाइसको ब्रान्ड एम्बेसडर बनेपछि यो कथा सुनाएकी थिइन् । दीपिका पहिलो भारतीय सेलिब्रेटी हुन्, जो लिवाइसको ग्लोबल ब्रान्ड एम्बेसडर हुन् ।

सन् २०१५ मा नै बलिउड अभिनेता रणवीर सिंहले दीपिकालाई विवाहको प्रस्ताव राखेका थिए र उनीसँग गोप्य इन्गेजमेन्ट गरेका थिए । दुवैले २०१८ मा विवाह गरेका थिए । हालै दीपिकाले आफू परिवारको योजना बनाएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu