देशभर ‘गोर्खा वारियर’, ललितपुरमा निकालियो र्‍याली



काठमाडौं। नेपाली चलचित्र ‘गोर्खा वारियर’ आज शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । निर्माण पक्षका अनुसार चलचित्र १ सय २० बढी हलमा प्रदर्शनरत छ । यो चलचित्र नेपाली, हिन्दी, अङ्ग्रेजी र कोरियनसहित चार भाषामा निर्माण भएको छ ।

निर्देशक मिलन चाम्सका अनुसार शुक्रवार बिहानैबाट हलमा चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति छ । ‘बिहानको शोमा केही ठाउँ हाउस फुल भयो भने केही ठाउँमा ८०-९० प्रतिसतको अकुपेन्सी रहेको छ,’ निर्देशक मिलन चाम्सले भने ।  ब्रिटिस गोर्खा लाहुरेको बाहुल्यता रहेको सहरहरू बिर्तामोड, धरान, नारायणगढ, पोखरा, दमौलीसहित काठमाडौंको क्युएफएक्स सिभिल, क्युएफएक्स लाबिम, बिग, एफक्युब, वान सिनेमाज, आईएनएलगायतका हलमा दर्शकको राम्रो उपस्थिति रहेको चलचित्रका वितरक करण क्रेजीले बताए ।

ललितपुर क्षेत्रमा रहेका राई लिम्बु समुदायका करिब ६ सय जनाले शुक्रवार ११ बजे ललितपुरको जावलाखेलस्थित चिडियाखाना क्षेत्रबाट ‘गोर्खा वारियर’को समर्थनमा चलचित्रको ब्यानर बोकेर भेसभुसा र बाजासहित र्‍याली निकालेका थिए । र्‍याली लबिम मलमा गएर टुङ्गिएको थियो । 

चलचित्रको बुधवार मात्र काठमाडौंको बिग मूभिजमा रेड कार्पेट प्रिमियर गरिएको थियो । जसमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति मन्त्री सुदन किराँती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, अभिनेता हरिवंश आचार्यलगायतको उपस्थिति थियो । त्यसअघि गत फागुन ५ मा धरानमा र फागुन ७ मा पोखरामा प्रिमियर गरिएको थियो ।

यो फिल्मको पहिलो अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियर गत भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा गरिएको थियो । चलचित्रको कोरियाको लागि कोरियन र हिन्दी बाहेक अन्य विश्व बजारका लागि अमेरिकन कम्पनीले किनी सकेका कारण ‘गोर्खा वारियर’ अबको ७ वर्षसम्म युट्युबमा रिलिज नहुने निर्देशक चाम्सले बताए ।

चलचित्रमा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu