सलमानको घरमा गोली चलाउने दुई जना पक्राउ



बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । सोमबार राति मुम्बई क्राइम ब्रान्चले दुवैलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाले जनाएका छन् । क्राइम ब्रान्चलाई उनीहरू भुजको मन्दिरमा लुकेर बसेको जानकारी प्राप्त भएको थियो ।

उनीहरूको पहिचान बिहारका विक्की साहेब गुप्ता र सागर श्रीजोगेन्द्र पालको रूपमा भएको छ । प्रहरीले उनीहरूलाई मुम्बईको फोर्ट कोर्टमा लगेको छ । दुवै अभियुक्तले गोली चलाएको पेस्तोल सुरतको खोलामा फालेको प्रहरीले जनाएको छ ।

उनीहरूले १४ अप्रिलको बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाएका थिए । दुवै जना मोटरसाइकलमा आएर ४ राउन्ड फायर गरेका थिए । गोली चलाउँदा सलमान आफ्नै घरमा थिए । घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको थियो ।

सिसिटिभी फुटेजमा दुवै आरोपीले क्याप लगाएका र काँधमा झोला झुन्डाएको देख्न सकिन्छ । उक्त फुटेजमा उनीहरूले सलमानको घरतर्फ गोली हानेको देखिन्छ । प्रहरी स्रोतका अनुसार दुवै अभियुक्त लरेन्स गिरोहका सदस्य हुन् । दुवै अभियुक्त पनवेलस्थित राधाकृष्ण अपार्टमेन्टमा बस्दै आएका थिए ।

खानलाई लरेन्स–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो । गोली चलेको घटनापछि लरेन्सका भाइ अनमोलले अनलाइन पोस्टमार्फत घटनाको जिम्मेवारी लिएका थिए । उनले यो घटनालाई ट्रेलर भन्दै सलमानलाई चेतावनी दिएका छन् । तर, प्रहरीले यो पोस्टको पुष्टि गरेको छैन । लरेन्स अहिले कैयौँ उच्च व्यक्तिको हत्याको आरोपमा तिहाड जेलमा छन् ।

प्रहरीले आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । यो बाइक सलमानको घरबाट एक किलोमिटर टाढा माउन्ट मेरी चर्च नजिकै छोडिएको थियो । यो बाइक पनवेल बस्ने व्यक्तिको नाममा दर्ता भएको प्रहरीले जनाएको छ । पनवेल सहायक प्रहरी आयुक्तले उक्त व्यक्तिले केही दिनअघि मात्रै यो दुई पाङ्ग्रे गाडी बेचेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu