भारतको लोकसभा चुनावमा १५ मध्ये ११ फिल्म स्टारहरू विजयी, राज बब्बर, निरहुआ, पवन सिंहको हार



भारतको लोकसभा चुनाव २०२४ मा ५४२ सिटको नतिजा सार्वजनिक भएको छ। यस पटक १५ जना फिल्म स्टारहरूले लोकसभा चुनाव लडेका थिए, जसमध्ये ११ जना सेलिब्रेटीले जित निकालेका छन्। विजेताहरूमा कङ्गना रनौत, हेमा मालिनी, शत्रुघन सिन्हा, रवि किशन, मनोज तिवारी जस्ता नामहरू समावेश छन्, जबकि भोजपुरी स्टार पवन सिंह र निरहुआ नराम्ररी हारेका छन्।

यस चुनावमा सबैभन्दा ठुलो जित २ लाख ९३ हजार ४०७ मतले विजयी भएकी हेमा मालिनीको भएको छ। उता राज बब्बर र निरहुआ जस्ता कलाकारहरू भने पराजित भए । ड्रीम गर्ल हेमा मालिनीले उत्तर प्रदेशको मथुरा सिटबाट भाजपाको टिकट पाएकी थिइन् । उनको अगाडि काँग्रेस नेता मुकेश धनगर थिए।

हिमाचल प्रदेशको मन्डीबाट भाजपाको टिकट पाएकी अभिनेत्री कङ्गना रनौतले काँग्रेस नेता विक्रमादित्य सिंहलाई पराजित गरेकी छन्। टीएमसीका तर्फबाट शत्रुघन सिन्हाले पश्चिम बङ्गालको आसनसोल सिटबाट भाजपा नेता एसएस अहलुवालियालाई ५९,५६४ मतले पराजित गरेका छन्।

चर्चित टेलिभिजन शो रामायणमा भगवान् श्रीरामको भूमिका खेलेर चर्चित बनेका अभिनेता अरुण गोविल उत्तर प्रदेशको मेरठबाट विजयी भएका छन्। भाजपाको टिकटमा चुनाव लडेका अरुण गोविलले सपा नेता सुनिता वर्मालाई १०,५८५ मतले हराए। अभिनेता तथा पार्श्व गायक सुरेश गोपी पनि केरलाको त्रिशूर सिटबाट चुनाव जितेका छन्। कम्युनिस्ट पार्टीका नेता वी.एस. सुनिल कुमार थिए।

उत्तर पूर्वी दिल्ली सिटमा भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार मनोज तिवारीले काँग्रेस नेता कन्हैया कुमारलाई पराजित गरेका छन्। मनोज १३ हजार ७ सय ७८ मतले विजयी भएका छन्। उत्तर प्रदेशको गोरखपुर सिटबाट भोजपुरी स्टार रवि किशनले समाजवादी पार्टीकी नेतृ काजल निषादलाई पराजित गर्दै विजयी भएका छन्। अभिनेत्री सयोनी घोष पश्चिम बङ्गालको जादवपुरबाट चुनाव लडेकी थिइन् । उनले भाजपा नेता अनिर्बान गांगुलीलाई २,५८,२०१ मतले पराजित गरेकी छन्।

बङ्गाली सिनेमाकी अभिनेत्री शताब्दी रोयले भाजपा नेता देवतनु भट्टाचार्यलाई ठुलो अन्तरले पराजित गरेकी छन्। अभिनेत्रीले पश्चिम बङ्गालको वीरभूमबाट तृणमूल काँग्रेसको टिकटमा चुनाव लडेकी थिइन्। बङ्गाली अभिनेत्री रचना बनर्जी पश्चिम बङ्गालको हुगली सिटमा विजयी भएकी छन्। उनले तृणमूल काँग्रेसको तर्फबाट चुनाव लडेकी थिइन्। उनको विपरीत अभिनेत्री तथा राजनीतिज्ञ लकेट चटर्जी थिइन्।

बङ्गाली सिनेमामा देव भनेर चिनिने अभिनेता अधिकारी दीपकले पनि पश्चिम बङ्गालको घाटाल सिट जितेका छन्। तृणमूल काँग्रेसको तर्फबाट चुनाव लडेका अभिनेताले भाजपा नेता हिरण्मय चट्टोपाध्यायको सामना गरिरहेका थिए।

को को हुन् पराजय भोगेका सेलिब्रेटी ?
वरिष्ठ अभिनेता राज बब्बरले हरियाणाको गुरुग्रामबाट चुनाव लडेका थिए। उनको अगाडि भाजपा नेता राव इन्दरजीत सिंह थिए। राव इन्दरजीत सिंहले राज बब्बरलाई ७५०७९ मतले पराजित गरेका छन्।

भोजपुरी स्टार पवन सिंह बिहारको कराकट सिटबाट ९९ हजार २५६ मतले पराजित भएका छन्। उनी कराकटबाट स्वतन्त्र उम्मेदवार बनेका थिए। यस सिटमा कम्युनिस्ट पार्टीका नेता राजाराम सिंह विजयी भएका छन्।

भारतीय जनता पार्टीबाट चुनाव लडेका दिनेशलाल यादव ‘निरहुआ’ पनि १ लाख ६१ हजार ३५ मतले पराजित भएका छन्। उनको अगाडि सपा नेता धर्मेन्द्र यादव थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu