
‘कोही मिल गया – कृश’को सफलतापछि, बलिउड सुपरस्टार ऋतिक रोशनका फ्यानहरू अर्को सिरिजको प्रतीक्षामा छन् । ‘कृश ४’ को घोषणा भए पनि कलाकारको टुङ्गो लाग्न बाँकी छ । हालै, निर्देशक राकेश रोशनले आफ्नो डकु-सिरिज ‘द रोशन’ को प्रचारको क्रममा सुपरहिरो-साइन्स फिक्शन ड्रामाले सामना गर्नुपरेका चुनौतीहरू, विशेष गरी बजेटको बारेमा खुलासा गरेका छन् ।
एक मिडिया अन्तर्वार्तामा, निर्माता तथा निर्देशक राकेशले कृश ४ को वर्तमान अवस्थाबारे बताएका हुन् । उनले चलचित्र रिलिजको प्रतीक्षा रहेको स्वीकार गरे, तर बजेटको कारणले चिन्ता लागेको बताए । चलचित्रको स्केल ठुलो रहेको र यसको दायरा घटाउन नहुने कुरामा जोड दिँदै उनले बजेट अभाव भयो भने चलचित्रको प्रभावलाई कम गर्न सक्ने बताए । बालबालिकामा सुपरहिरो चलचित्रको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै, आलोचनाबाट बच्नको लागि हरेक कुरामा ध्यान दिनुपर्ने उनको भनाई थियो ।
अन्तर्राष्ट्रिय चलचित्रको तुलनामा भारतीय चलचित्रमा बजेटको समस्या हुने गरेको रोशनले बताए । अन्तर्राष्ट्रिय सुपरहिरो चलचित्रले एक हजार करोडभन्दा बढी बजेट छुट्टाउन सक्ने भए पनि भारतीय चलचित्रको बजेट ४ सय करोड मात्रै हुने गरेको उनको भनाई छ । त्यसैले, भारतीय चलचित्र निर्माताहरुले कथामा ध्यान दिनुपर्ने र राम्रो कथा बनाउनुपर्ने बताए ।